गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–१० सिमीचौरमा सडकको ठूलो भाग भासिएपछि रेसुङ्गा विमानस्थलतर्फ जाने मुख्य सडकमा यातायात सेवा ठप्प भएको छ।
सडक भासिएसँगै तम्घास–सिमीचौर–राङबास–खज्र्याङ हुँदै रिडीतर्फ जाने सडकसमेत प्रभावित भएको छ। सिमीचौर क्षेत्रमा करिब ८० मिटर लामो पक्की सडक जमिनसँगै भासिएपछि नियमित सवारी सञ्चालन गर्न समस्या भएको हो।
हाल उक्त सडकमा पैदलयात्री तथा मोटरसाइकल चालकले समेत जोखिम मोलेर आवतजावत गरिरहेका छन्। सडकमा भएको क्षतिको प्रारम्भिक मूल्यांकन गर्दा एक करोड रुपैयाँभन्दा बढीको नोक्सानी भएको अनुमान गरिएको छ।
सडकसँगै गएको पहिरोका कारण स्थानीय दुईवटा घरसमेत जोखिममा परेका छन्। स्थानीय तिलबहादुर कुँवरले पहिरोबाट आफूले मुस्किलले ज्यान जोगाएको बताए। वर्षा जारी रहेमा पहिरो थप फैलिन सक्ने र घरसमेत बगाउने हो कि भन्ने डर रहेको उनको भनाइ छ।
उक्त सडक सघन शहरी विकास कार्यालय पाल्पाले ‘एकीकृत सडक स्तरोन्नति कार्यक्रम’ अन्तर्गत निर्माण गरेको थियो। सडक निर्माणको काम गत असार मसान्तमा सम्पन्न भएको थियो। निर्माण पूरा भएको एक वर्ष पनि नपुग्दै लगातारको वर्षाका कारण सडकको ठूलो हिस्सा भासिएको हो।
सघन शहरी विकास कार्यालयका इन्जिनियर घनश्याम यादवका अनुसार तत्कालका लागि सवारी आवागमन सहज बनाउन अस्थायी बाटो निर्माण गर्ने तयारी भइरहेको छ। उनका अनुसार एक–दुई दिनभित्र अस्थायी मार्ग सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।
तर भासिएको पक्की सडकलाई स्थायी रूपमा पुनर्निर्माण गरी पुरानै अवस्थामा ल्याउन भने थप समय लाग्ने यादवले बताए। क्षतिको विस्तृत अध्ययनपछि पुनर्निर्माणको प्रक्रिया अघि बढाइने उनको भनाइ छ।
सडक अवरुद्ध भएपछि त्यस क्षेत्रबाट सदरमुकाम तम्घासमा अध्ययनका लागि आउने विद्यार्थी, रेसुङ्गा विमानस्थल प्रयोग गर्ने यात्रु तथा स्थानीय बासिन्दा प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
सडकको तत्काल वैकल्पिक व्यवस्था नहुँदा दैनिक आवतजावत तथा विमानस्थलसम्म पुग्ने यात्रामा समेत थप समस्या उत्पन्न भएको छ।
