काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक परिषद्को पूर्ण बैठकले विभिन्न शैक्षिक तथा प्रशासनिक विषयसँग सम्बन्धित प्रस्तावहरू अनुमोदन गरेको छ।
शुक्रबार बसेको बैठकले आर्थिक वर्ष २०८१–०८२ र २०८२–०८३ मा स्थायी समितिबाट गरिएका निर्णयहरूलाई स्वीकृति दिएको हो। अनुमोदित निर्णयमा पाठ्यक्रम स्वीकृति, ट्रान्सक्रिप्टको नमुना निर्धारण तथा मौका परीक्षासम्बन्धी विषय समावेश छन्।
त्यस्तै, विभिन्न अध्ययन संस्थान, संकाय तथा परीक्षा नियन्त्रण कार्यालयबाट नियमअनुसार प्राप्त भएका नयाँ शैक्षिक उपाधि स्थापना, थप विषय सञ्चालन र विद्यार्थीको कोटा निर्धारणसम्बन्धी प्रस्ताव पनि बैठकले पारित गरेको छ।
बैठकमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी शैक्षिक संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले समयअनुकूल र रोजगारी बजारसँग जोडिने गरी पाठ्यक्रम परिमार्जन गर्नुपर्नेमा जोड दिँदै विद्यार्थी विदेशिने क्रमलाई न्यूनीकरण गर्न विश्वविद्यालयले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए।
त्यसैगरी, शिक्षाध्यक्ष प्रा.डा. अञ्जना सिंहले नेपालमा उच्च शिक्षाको ठूलो हिस्सा त्रिभुवन विश्वविद्यालयले धानिरहेको उल्लेख गरिन्। उनका अनुसार नवप्रवर्तन र अनुसन्धानलाई प्राथमिकतामा राख्दै त्रिविलाई उत्कृष्ट प्राज्ञिक संस्थाका रूपमा अघि बढाउने प्रयास भइरहेको छ।
बैठकमा रजिष्ट्रार डा. रविन्द्र शिवाकोटी र शिक्षाध्यक्ष प्रा.डा. अञ्जना सिंहले अनुमोदनका लागि विभिन्न प्रस्तावहरू प्रस्तुत गरेका थिए।
त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अनुसार प्राज्ञिक परिषद्मा अध्यक्षसहित ५० जना सदस्य रहने व्यवस्था रहेको छ।
