रौतहट, १८ असोज । सर्लाहीको बागमती नगरपालिका–४ जिरायत टोलमा आइतबार बिहान विशाल जंगली भाले हात्ती मृत अवस्थामा फेला परेको छ।
ब्रह्मस्थान सामुदायिक वनको नजिकै रहेको परबल बारीमा स्थानीयले हात्ती मृत अवस्थामा देखेपछि घटनाबारे वन कार्यालयलाई खबर गरेका थिए। ठूलो आकारको हात्ती मृत भेटिएपछि स्थानीयवासीमा त्राससँगै घटनाको कारणबारे चासो बढेको छ। सामुदायिक वन नजिकैको परबल बारीमा ठूलो भाले हात्ती मृत अवस्थामा फेला परेको हो।
घटनाको जानकारी पाएलगत्तै डिभिजन वन कार्यालय सर्लाहीले कर्मचारीको टोली घटनास्थलमा पठाएको छ। डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख विनोद सिंहले हात्तीको मृत्युको कारण पत्ता लगाउन प्रारम्भिक अध्ययन तथा अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
हात्तीको मृत्युको वास्तविक कारण यकिन गर्न डिभिजन वन कार्यालय सर्लाही र पर्सा राष्ट्रिय निकुञ्जबाट संयुक्त टोली घटनास्थलमा परिचालन गरिएको छ। टोलीले मृत हात्तीको शारीरिक अवस्था, घटनास्थलको प्रकृति तथा आसपासको वातावरणको सूक्ष्म अध्ययन गरिरहेको छ।
वन्यजन्तु विज्ञ तथा प्राविधिक टोलीको विस्तृत परीक्षणपछि मात्रै हात्तीको मृत्यु प्राकृतिक कारणले भएको हो वा विषादी, करेन्ट, रोग, मानवीय गतिविधि अथवा अन्य कुनै कारणले भएको हो भन्ने खुल्ने वन अधिकारीहरूले बताएका छन्।
सर्लाहीका वन क्षेत्र आसपास पछिल्ला वर्षहरूमा जंगली हात्तीको आवतजावत हुँदै आएको छ। जंगलबाट बस्ती तथा खेतीबालीतर्फ हात्ती प्रवेश गर्ने क्रम बढ्दा मानव–वन्यजन्तु द्वन्द्वका घटनासमेत देखिँदै आएका छन्।
यसपटक मृत भेटिएको हात्तीको उमेर, स्वास्थ्य अवस्था र मृत्युको कारणबारे अनुसन्धान भइरहेको छ। प्राविधिक परीक्षणको प्रतिवेदनपछि मात्रै घटनाको वास्तविक कारण सार्वजनिक हुने वन अधिकारीहरूले बताएका छन्।
