सुनसरी प्रहरीले इनरुवा–३, सखुवागाछी चेकपोस्टबाट २ हजार ५ सय ६६ किलो गाँजासहित ट्रक नियन्त्रणमा लिएको छ।
ट्राफिक प्रहरीसहितको संयुक्त चेकिङका क्रममा तरकारी (बन्दाकोपी) बोकेको ना.७ ख १८२५ नम्बरको ट्रकबाट उक्त परिमाणको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रमुख एसपी पुष्पराज मल्लका अनुसार गाँजासहित २ जनालाई नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिइएकाहरूमा धनकुटाका चालक राजु राई र सहचालक सन्दीप राई रहेका छन्।
गाँजासहित तरकारी लोड गरिएको उक्त ट्रक हिलेबाट इनरुवासम्म आइपुगेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका व्यक्तिका आधारमा गाँजा तस्करीको जालोसम्म पुग्ने लक्ष्यसहित अनुसन्धानमा जुटेको एसपी मल्लले बताए। थप अनुसन्धान अघि बढाइएको उनले जानकारी दिएका छन्।
