काठमाडौं, १९ असोज । नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाएको छ । यसअघि १३ जना पदाधिकारी रहेको कांग्रेसमा संख्या बढाएर २४ बनाइएको छ ।
कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रमा पदाधिकारी बढाउने प्रस्ताव छलफलका क्रममा छ । अब कांग्रेसमा सभापति एक, वरिष्ठ उपसभापति एक, महिला एकसहित तीन उपसभापति, महिला एकसहित तीन महामन्त्री, सहमहामन्त्री चारजना, मनोनीत महिलासहित १५ जना केन्द्रीय सदस्य र एकजना प्रवक्ता रहनेछन् ।
कांग्रेसमा कोषाध्यक्षलाई पनि पदाधिकारीकै हैसियत दिने गरिन्छ । सभापतिले केन्द्रीय सदस्य निर्वाचित वा मनोनयनबाट आएकामध्येबाट कोषाध्यक्ष नियुक्त गर्नेछन् । यसरी कांग्रेसमा पदाधिकारीको संख्या २५ जनाको रहनेछ । तर, यसबारे कांग्रेसले अहिलेसम्म केही निर्णय गरेको छैन ।
कांग्रेसमा केन्द्रीय सदस्यको संख्या बढाएर २६२ बनाउने प्रस्ताव गरिएको छ । यसअघि १६४ जना केन्द्रीय सदस्य रहने व्यवस्था थियो ।