२० असोज, काठमाडौं । नेकपा एमालेले २१ फागुनको चुनावी हारलाई अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिगत असफलताका रूपमा लिन नहुने निष्कर्ष निकालेको छ ।
तेस्रो केन्द्रीय कमिटी बैठकपछि जारी अपानिमा पार्टीको हारलाई समग्र परिस्थितिसँग जोडेर विश्लेषण गर्नुपर्ने उल्लेख गरिएको छ ।
‘हार बाह्य प्रहारको मात्र परिणाम होइन, हार हाम्रो आन्तरिक कमजोरीको परिणाम पनि हो । तर हार अध्यक्षको व्यक्तिगत असफलता होइन,’ अपानिमा लेखिएको छ, ‘यो सिंगो पार्टी संरचना, समयको मनोविज्ञान, बाह्य वातावरण, डिजिटल आक्रमण, चुनावी अवस्था र हाम्रा संगठनात्मक कमजोरीहरूको संयुक्त परिणाम हो ।’
अपानिमा ओलीले आफ्नो भागमा पर्ने हारको जिम्मेवारी लिने बताएका छन् । तर अध्यक्ष पद नछोड्ने संकेत पनि दिएका छन् ।
‘अध्यक्षका रूपमा आफ्नो भागको जिम्मेवारी स्वीकार गर्छु । तर म यो पनि भन्छु– यो समय भाग्ने समय होइन, यो समय दोषारोपणमा अल्झिने समय पनि होइन,’ ओलीले अपानिमा लेखेका छन् ।
२६ पृष्ठको अपानिमा केन्द्रीय कमिटीले गरेका मनोनयनलगायत केही निर्णय समेटिनुका साथै ओलीका मन्तव्य पनि समावेश छन् ।
