चितवन । चितवनको रत्ननगर नगरपालिका–०३ बेल्सीपुलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भयो । मंगलबार बिहान करिब १०:३० बजे शान्तिचोकबाट तरकारीचोकतर्फ जाँदै गरेको बा.प्र.०१–००३ क ८७२५ नम्बरको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०६००८ प ३५६३ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ठोक्कियो । दुर्घटनामा मोटरसाइकल चालक रत्ननगर नगरपालिका–०१ बस्ने करिब २० वर्षीय ओशिक अन्सारी गम्भीर घाइते भए । उनलाई तत्काल उपचारका लागि नयाँ मेडिकल कलेज चितवन लगिएकोमा बिहान ११:०९ बजे चिकित्सकले मृत घोषणा गरे । दुर्घटनापछि ट्रक र चालक उदयपुरको रौतामाई गाउँपालिका–०९ बस्ने ३८ वर्षीय इन्द्रमान परियारलाई प्रहरीले नियन्त्रणमा लियो । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गर्यो ।
