काठमाडौँ, २१ असोज । नेपाली कांग्रेसका युवा नेता विद्वान गुरुङले मुलुकलाई नयाँ दिशा दिन र पार्टीलाई थप सशक्त बनाउने संकल्पका साथ आफूले पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारी दिएको बताए। नेता गुरुङले मुलुकलाई नयाँ दिशा दिन र पार्टीलाई थप सशक्त बनाउन तरुण पुस्ताको भूमिका महत्वपूर्ण हुने बताए।
नेता गुरुङले १५औँ महाधिवेशनलाई पार्टीको ऐतिहासिक मोडका रूपमा व्याख्या गर्दै बदलिँदो राजनीतिक परिवेशमा कांग्रेसलाई थप गतिशीलता प्रदान गर्न र देशव्यापी रूपमा संगठनलाई सबल बनाउन सक्षम नेतृत्व आवश्यक रहेको जिकिर गरे। गुरुङले पार्टीका सबै तह र तप्कामा युवाहरूको सहभागिता बढाउनुपर्नेमा जोड दिए।
उनले भने, ‘अहिले नयाँ नेपाल, नयाँ कांग्रेस र नयाँ उत्साहका साथ नेपाली कांग्रेसको ऐतिहासिक १५औँ महाधिवेशन हुँदैछ। देशलाई नयाँ ढङ्गले अघि बढाउन र तरुणहरूलाई देशव्यापी रूपमा संगठित गर्दै नेपाली कांग्रेसलाई अझ सशक्त बनाउन आजको हाम्रो छलफल महत्वपूर्ण हुनेछ। आगामी महाधिवेशनमा हामी व्यापक छलफल गरेर साझा निर्णयमा पुग्नेछौँ। पार्टी सभापति गगन थापाको नेतृत्वमा हामी सबै एकताबद्ध भएर अघि बढ्नेछौँ। यस १५औँ महाधिवेशनमा मैले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा खुलातर्फ आफ्नो उम्मेदवारी घोषणा गरेको छु। यहाँहरूको साथ, सहयोग र समर्थनको अपेक्षा गर्दछु। अब हामी तरुण दलका साथीहरूबीच थप छलफल गरेर सक्षम, योग्य र पार्टीलाई नयाँ दिशा दिन सक्ने उम्मेदवारहरूलाई अघि बढाउनुपर्छ। यसपटक तरुण दल मात्र होइन, सक्षम र ऊर्जावान नेतृत्वलाई प्राथमिकतामा राखेर निर्णय गरौँ।’
गुरुङले आफू खुलातर्फ केन्द्रीय सदस्यको उम्मेदवार बनेको बताए। पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई सुदृढ पार्न र योग्य व्यक्तिहरूलाई मूलप्रवाहमा ल्याउन तरुण दलले निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गरे।