सुर्खेत, २१ असोज । कर्णाली प्रदेश प्रहरी कार्यालयले जेनजी आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट भागेका फरार कैदीबन्दीको खोजी कार्यमा तीव्रता दिने भएको छ ।
घटस्थापनादेखि छठ पर्वसम्मको अवधिका लागि सुरक्षा प्रदान गर्न जारी गरिएको विज्ञप्तिमा फरार कैदीबन्दी तथा अभियुक्तहरू चाडपर्वको समयमा आफ्नो घरवतनमा आउन सक्ने र सो अवधिमा आपराधिक गतिविधि बढ्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै कुनै पनि किसिमका अप्रिय घटना हुन नदिन योजनाबद्ध प्रहरी परिचालन, प्रभावकारी अनुगमन, निगरानी तथा नियन्त्रण आवश्यक रहेको उल्लेख गरिएको छ ।
पाँच हजार ५०७ जना जनशक्ति खटाउन लागेको प्रहरी कार्यालयले सुरक्षा चुनौती तथा सम्भावित जोखिमलाई दृष्टिगत गर्दै आम नागरिकको जनजीवनलाई सामान्य, सुरक्षित तथा भयमुक्त तुल्याउने उद्देश्यले कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेत मातहतका जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना–२०८३ तयार गरी लागू गरिएको जनाएको छ ।
‘चाडपर्वको समयमा हुन सक्ने कुनै पनि आपराधिक गतिविधि तथा अवाञ्छित क्रियाकलाप हुन नदिई आम नागरिकलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाई समग्र कर्णाली प्रदेशको भरपर्दो सुरक्षा व्यवस्था मिलाउने योजना बनाइएको हो,’ प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी जयराज सापकोटाले बताएका छन् ।
उनले चाडपर्वको नाममा हुन सक्ने अवाञ्छित तथा आपराधिक क्रियाकलापको रोकथाम एवम् नियन्त्रण गर्दै नागरिकले सुरक्षित र हर्षोल्लासका साथ चाडपर्व मनाउने विश्वसनीय वातावरण सिर्जना गर्ने, सार्वजनिक स्थल, मेलापर्व लगायतका स्थानमा झै–झगडा, हुलदंगा तथा कुनै पनि आपराधिक गतिविधि हुन नदिई भरपर्दो शान्ति सुरक्षा कायम गर्ने लक्ष्य राखिएको बताए ।
उनका अनुसार बैंक तथा वित्तीय संस्था, सुनचाँदी तथा गरगहना पसल लगायत आर्थिक कारोबार हुने स्थान र बढी भिडभाड हुने क्षेत्रमा चोरी, लुटपाट तथा पाकेटमारीका घटना नियन्त्रण गर्ने लक्ष्यसमेत राखिएको छ ।
बजारमा हुने कृत्रिम अभाव, मूल्यवृद्धि, कालोबजारी र ठगीका घटना नियन्त्रण गर्ने, सवारी दुर्घटना न्यूनीकरण गर्ने, तोकिएभन्दा बढी भाडा लिन नदिने र सहज आवागमनको व्यवस्था मिलाउने, अवैध हातहतियार तथा विस्फोटक पदार्थको ओसारपसार र प्रयोगमा नियन्त्रण गर्ने तथा धार्मिक एवम् साम्प्रदायिक घटना हुन नदिने लक्ष्य राखिएको उनले बताए ।
त्यसका लागि प्रदेशभरि मोबाइल गस्ती २८ वटा, मोटरसाइकल गस्ती ९८ वटा, क्यूआरटी परिचालन ६० वटा र पैदल गस्ती १४८ वटा परिचालन गर्ने योजना बनाइएको छ ।
यस्तै, लामो तथा छोटो दूरीको गस्ती २०४ वटा, पिकेट १७६ स्थान, नियमित, विशेष तथा आकस्मिक चेकिङ ६७ स्थान, ट्राफिकसहितको संयुक्त चेकिङ ४७ स्थान, महत्वपूर्ण प्रतिष्ठान, धार्मिक तथा पर्यटकीय स्थलको सुरक्षा ३८ स्थान, यात्रु सहायता तथा नागरिक सहायता कक्ष (अन्तर्राष्ट्रिय सीमासमेत) ३७ स्थान, माइकिङ तथा प्रचारप्रसार २४ स्थान, बैंक तथा वित्तीय संघसंस्था सुरक्षा तथा बजार अनुगमन ३१ स्थान, विशिष्ट व्यक्तिको सुरक्षा १० वटा र अन्य विभिन्न ड्युटी ४९४ वटा गरी प्रदेशभरि सुरक्षा योजना मिलाइने कार्यालयले जनाएको छ ।
