बडादशैँ र तिहारजस्ता चाडबाड नजिकिँदै गर्दा पोखरासहित देशभर अनलाइन ठगीका घटना चिन्ताजनक रूपमा बढेका छन् ।
सामाजिक सञ्जालमा नक्कली विज्ञापन राखेर आकर्षक सामानको प्रलोभन देखाउने र अग्रिम भुक्तानी लिएर सम्पर्कविहीन हुने गिरोह सक्रिय भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले उपभोक्तालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । पछिल्लो समय अनलाइन सपिङको मोह बढ्दै जाँदा प्रविधिको दुरुपयोग गर्दै ठगी गर्ने क्रम पनि ह्वात्तै बढेको छ । भौतिक रूपमा पसलमा गएर किनमेल गर्नुको सट्टा घरमै बसेर मोबाइलमार्फत अर्डर गर्ने बानीको फाइदा उठाउँदै अपराधीहरूले टिकटक, फेसबुक र इन्स्टाग्रामलाई मुख्य माध्यम बनाएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र पासवानका अनुसार गत वर्षको तुलनामा यस वर्ष अनलाइन ठगीका उजुरी दिनानुदिन थपिँदै गएका छन् ।
प्रहरीका अनुसार हालै पोखराका एक पीडितले ‘सन्ध्या कलेक्सन ३५’ नामक टिकटक आईडीबाट सामान किन्ने क्रममा ४ लाख ४२ हजार रुपैयाँ गुमाउनुपरेको घटना सार्वजनिक भएको छ । पीडितलाई सामान्य ५ सय रुपैयाँको कुर्था खरिद गर्ने क्रममा ‘अग्रिम भुक्तानी’को प्रलोभन देखाई पटक–पटक रकम ट्रान्सफर गर्न लगाएर खाता नै रित्याइएको थियो । सोही घटनाको अनुसन्धान गर्दै प्रहरीले धनगढीबाट एक १७ वर्षीय किशोरलाई पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाएको छ ।
उनले भने, ‘कुनै पनि व्यक्तिगत सामाजिक सञ्जालको पेज वा टिकटक आईडीमार्फत हुने अस्वाभाविक सस्तो अफरबाट सचेत रहनुहोस् । अनलाइन भुक्तानी गर्दा सकेसम्म डेलिभरी भइसकेपछि मात्र पैसा तिर्ने विधि अपनाउनु सबैभन्दा सुरक्षित हुन्छ ।’
प्रहरीले अनलाइन सपिङ गर्दा विशेष सावधानी अपनाउन र आधिकारिक रूपमा दर्ता भएका विश्वसिला पोर्टलबाट मात्र सामान खरिद गर्न सुझाव दिएको छ । साइबर अपराधबाट बच्न उपभोक्ता आफैँ सचेत हुनुपर्ने प्रहरीको निष्कर्ष छ । दर्ता नभएका अनलाइन पसललाई विश्वास नगर्ने, जथाभावी अग्रिम रकम नपठाउने र शंकास्पद अफरमा नलोभिने कार्यले मात्र यस्ता ठगीका घटना न्यूनीकरण गर्न सकिने प्रहरीले बताएको छ ।
