काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मुलुकमा निम्तिएको बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपत्तिका समयमा सरकारलाई पूर्ण सहयोग गर्ने निर्णय गरेको छ। साथै, उद्धार तथा राहत कार्यमा देखिएका कमजोरीबारे सरकारको ध्यानाकर्षण गराउने काँग्रेसले जनाएको छ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पदाधिकारी, केन्द्रीय सदस्य तथा सरोकारवाला पक्षबीच भएको छलफलमा सभापति गगनकुमार थापाले विपद्को समयमा सरकारलाई सहयोग गर्नु प्रतिपक्षी दलको कर्तव्य भएको बताए। सरकारका काममा देखिएका ‘ग्याप’ र कमजोरी औँल्याउनु आलोचना नभई सहयोग नै भएको उनले स्पष्ट पारे।
सभापति थापाले सुरुङमा भइरहेको उद्धार कार्यमा स्वदेशी विज्ञताको क्षमताले मात्र नपुग्ने देखिएकाले विदेशी सहयोग लिन सरकार हिचकिचाउन नहुने बताए। विपद्का बेला छिमेकी तथा अन्य मुलुकबाट सहयोग लिनु स्वाभाविक भएको उनको भनाइ थियो।
विपद् व्यवस्थापनमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भन्दै थापाले संघीय सरकारलाई स्थानीय तहसँग प्रभावकारी समन्वय गर्न सुझाव दिए। स्थानीय सरकारलाई बाइपास गरेर विपद् व्यवस्थापन प्रभावकारी हुन नसक्ने उनले बताए।
मुलुक शोकमा रहेको र हजारौँ नागरिक प्रभावित भएको अवस्थामा पार्टीका कुनै पनि तहले सार्वजनिक उत्सव तथा कार्यक्रम नगर्न थापाले निर्देशन दिए। अबको सम्पूर्ण ध्यान उद्धार, राहत संकलन र वितरणमा केन्द्रित गर्नुपर्नेमा उनले जोड दिए।
थापाले आफूले परराष्ट्रमन्त्रीलाई सम्पर्क गरी सुरुङमा उद्धारका लागि बाह्य मुलुकबाट सहयोग लिन आग्रह गरेको जानकारी दिए। हरितालिका तीजलगायत पर्वहरू सामान्य रूपमा मनाउन सकिने भए पनि सार्वजनिक उत्सव तथा भड्किलो कार्यक्रम नगर्न उनले आग्रह गरे।
यसैबीच, सोमबारदेखि सभापति थापा नेतृत्वको विपद् व्यवस्थापन टोली प्रत्यक्ष प्रभावित क्षेत्रको अवलोकन तथा राहत समन्वयका लागि जाने भएको छ। फिल्डमा पुगेर प्राप्त हुने वास्तविक जानकारीका आधारमा सरकारलाई थप सुझाव तथा दबाब दिइने थापाले बताए।
– न्युज एजेन्सी नेपाल
