नेपाल मधुमेही समाजले आफ्नै स्वामित्वमा सुविधासम्पन्न ‘मधुमेह उपचार तथा अनुसन्धान केन्द्र’ स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ।
बढ्दो बिरामी संख्या र संस्थाको दायरा फराकिलो बन्दै गएपछि भाडाको संरचनाबाट सेवा दिन अपुग भएको भन्दै समाजले आफ्नै जग्गा खरिद गरी अत्याधुनिक केन्द्र निर्माण गर्ने योजना सार्वजनिक गरेको हो। काठमाडौंमा आयोजित समाजको ३६औँ वार्षिक साधारण सभामा बोल्दै नेपाल मधुमेही समाजका अध्यक्ष शिव श्रेष्ठले अनुसन्धान केन्द्र स्थापनाको अवधारणा सार्वजनिक गरेका छन्।
अध्यक्ष श्रेष्ठका अनुसार केन्द्र निर्माणका लागि हालसम्म ३ करोड रुपैयाँभन्दा बढी चन्दा संकलन भइसकेको छ। यद्यपि जग्गा र निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धिका कारण संकलित रकम मात्र पर्याप्त नभएकाले थप आर्थिक सहयोग जुटाउन समाजले अपिल गरेको छ।
अध्यक्ष श्रेष्ठले हालसम्म समाजलाई प्राप्त सबैभन्दा ठूलो सहयोग २५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ रहेको र एक सय रुपैयाँसम्म दिने दाताहरूको सहयोगले कोष मजबुत बन्दै गएको बताएका छन्। हालसम्म सहयोग गर्ने सबै दाताहरूको नाम समावेश गरेर विस्तृत विवरणसहितको पुस्तक प्रकाशन गर्न लागिएको समेत उनले बताएका छन्।
समाजलाई कार्यालय सञ्चालनका लागि घर उपलब्ध गराएर सहयोग पुर्याएकोमा उनले घरधनी पवित्र बज्राचार्यप्रति आभार व्यक्त गरेका छन्। समाजको प्राज्ञिक तथा अन्तर्राष्ट्रिय पहुँचसमेत विस्तार हुँदै गएको उनको भनाइ छ।
गत मार्च ५ र ६ तारिखमा थाइल्यान्डको बैंककमा सम्पन्न मधुमेहसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा समाजका तर्फबाट डा. ज्यासमिन तुलाधर र आलोक श्रेष्ठले प्रस्तुत गरेका कार्यपत्र स्वीकृत भई समाजको प्राविधिक उपस्थिति दर्ज भएको अध्यक्ष श्रेष्ठले बताएका छन्।
उनले भने, ‘हामी सबैका लागि १०० वर्षसम्म स्वस्थ, सहृदयी र समाजप्रति समर्पित भएर जीवन बिताउनु ठूलो सौभाग्यको कुरा हो। आफ्नो स्वार्थभन्दा माथि उठेर गरिब तथा समाजको हितका लागि निरन्तर सोच्ने आदरणीय व्यक्तित्वलाई आज अभिनन्दन गर्न पाउनु हाम्रो गौरव हो। यस अवसरमा डा. मृगेन्द्रराज पाण्डे, पूर्वराष्ट्रपतिज्यू तथा आदरणीय नानिबाबु प्रधानज्यूको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछु। हाम्रो संस्थाले मधुमेहसम्बन्धी अनुसन्धान र उपचारका क्षेत्रमा महत्त्वपूर्ण काम गर्दै आएको छ। बैंककमा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनमा हाम्रा दुई जना चिकित्सकका कार्यपत्र स्वीकृत हुनु र छात्रवृत्तिका अवसर प्राप्त हुनु हाम्रो उपलब्धि हो। अब संस्थाको कामलाई अझ विस्तार गर्दै मधुमेह उपचार तथा अनुसन्धान केन्द्र स्थापना गर्ने हाम्रो सोच छ। यसका लागि आफ्नै भवन आवश्यक छ। हालसम्म सहयोगीहरूको योगदानबाट तीन करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको छ। तर जग्गा र भवनको बढ्दो मूल्यका कारण थप आर्थिक स्रोत आवश्यक छ।’
अन्तर्राष्ट्रिय स्तरबाट समाजलाई आफ्नो कार्यक्षेत्र विस्तार गर्न र छात्रवृत्तिलगायतका अवसर बढाउन सुझाव आएकाले पनि आधुनिक अनुसन्धान केन्द्र अपरिहार्य बनेको उनले बताएका छन्।
