काठमाडौं । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकास्थित स्यार खोलामा आएको बाढीले बुढीगण्डकी नदीमा ठूलो बाढी निम्त्याएपछि प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाको व्यवस्था तत्काल मिलाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारको ध्यानाकर्षण गराएको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै बाढीका कारण पक्की पुल, झोलुङ्गे पुल, विभिन्न भौतिक संरचना तथा बस्तीमा पुगेको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
उनले बाढीबाट प्रभावित व्यक्तिहरूको उद्धारलाई तीव्रता दिन, घाइतेहरूको उपचार सुनिश्चित गर्न र बेपत्ता भएकाहरूको खोजी कार्य प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारसँग आग्रह गरेका छन्।
लिङ्देनले विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै सुरक्षित बसोबास, खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीको व्यवस्था गर्नुपर्ने बताएका छन्। साथै, जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्न पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन्।
बाढीबाट क्षति पुगेका संरचनाको पुनर्निर्माण र घरबार छाड्न बाध्य भएका परिवारको पुनर्स्थापनाका लागि ढिलाइ नगरी आवश्यक प्रक्रिया अघि बढाउनुपर्नेमा उनले जोड दिएका छन्।
