सुर्खेत, २५ असोज । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा फोरलेन सडक निर्माणले तीव्रता पाएको छ । पूर्वाधार विकास कार्यालय सुर्खेतसँग वासना निर्माण सेवा कालिकोटले फोरलेन सडक निर्माणलाई तीव्रता दिएको हो ।
२०८३ जेठ २२ गते निर्माण कम्पनीले कार्यालयसँग गरेको सम्झौताअनुसार २०८५ असार १५ गते निर्माण सम्पन्न गर्नुपर्ने छ । तीन दशमलव २० किलोमिटर लम्बाइ रहेको सडकको कुल लागत २० करोड ५५ लाख २४ हजार रुपैयाँ रहेको छ । सडकको सुरु विन्दु रातो पुल र अन्तिम विन्दु बांगेशिमल रहेको कार्यालयका इन्जिनियर प्रेम पाण्डेले जानकारी दिए ।
‘उनीहरूले निर्माणमा तीव्रता दिएका छन् । सकेसम्म सम्झौता अवधिभित्रै निर्माण सम्पन्न गर्ने अपेक्षा छ,’ पाण्डेले भने ।
यता, निर्माण व्यवसायी मानव बमले आफूहरूले सडक निर्माणमा जवाफदेहितापूर्वक काम गरिरहेको बताए ।
‘हामीले अहिले निर्माणमा तीव्रता दिएका छौँ । समयअगावै काम सम्पन्न गरेर योजना हस्तान्तरण गर्छौँ,’ बमले भने ।
कार्यालय प्रमुख प्रविण कार्कीले निर्माण कम्पनीले हालसम्म सन्तोषजनक रूपमा काम गरिरहेको बताए ।
‘उनीहरू अहिले फोरलेन सडक निर्माणमा सन्तोषजनक रूपमा काम गरिरहेका छन्,’ उनले भने, ‘निर्माण सम्पन्न भएको खण्डमा प्रदेश अस्पताल र बांगेशिमल जान सहज हुनेछ ।’
