काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत वितरण र सुरक्षाका काममा जुट्न सबै पक्षलाई आग्रह गरेका छन्।
आइतबार फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रचण्डले बाढीका कारण गोरखाको चुमनुब्री, धार्चे र आरुघाटलगायतका क्षेत्रमा ठूलो क्षति पुगेको तथा पुल र घरहरू बगाएको खबरले आफू दुःखी भएको बताएका छन्।
उनले बाढीबाट प्रभावित नागरिकलाई सुरक्षित स्थानमा पुर्याउन, आवश्यक राहत उपलब्ध गराउन र उनीहरूको सुरक्षामा विशेष ध्यान दिन सबैलाई अनुरोध गरेका छन्।
त्यसैगरी, बूढीगण्डकी नदीदेखि त्रिशूली नदीको किनारसम्म बसोबास गर्ने नागरिकलाई सम्भावित जोखिमलाई ध्यानमा राख्दै सतर्क रहन र सुरक्षित उपाय अपनाउन प्रचण्डले आग्रह गरेका छन्।
विपद्का बेला प्रभावित नागरिकलाई सहयोग गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिँदै उनले उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन सबैसँग अपिल गरेका छन्।
