काठमाडौँ, २५ असोज । पूर्वकप्तान रोहितकुमार पौडेलको शतकको मद्दतमा नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत क्यानडालाई २३६ रनको लक्ष्य दिएको छ।
आइतबार ओमानस्थित अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३५ रन बनाएको हो।
क्यानडाविरुद्ध रोहितले १२५ बलमा शतक पूरा गरेका हुन्। उनले ८ चौका र १ छक्का प्रहार गरे। १२७ बलमा १०१ रन बनाएका रोहितलाई जागिरले आउट गराएका थिए।
रोहितको यो एकदिवसीय क्रिकेटमा तेस्रो शतक हो। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तीन शतक प्रहार गर्ने उनी पहिलो नेपाली क्रिकेटरसमेत बनेका छन्।
यस्तै, गुल्सन झाले ३४ बलमा ४८ रन बनाए। बसिर अहमदले ५७ बलमा ३० रनको योगदान गरे।
