जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूतमा प्रस्तावित कल्याणराज शर्माले नेपाल–चीन सीमा नाकाहरूलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने र दुई देशबीचको आर्थिक कूटनीतिलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा उनले व्यापार घाटा न्यूनीकरण, मेडिकल पर्यटनमा सहकार्य र चीनबाट थप लगानी भित्र्याउने आफ्नो मुख्य कार्ययोजना प्रस्तुत गरेका हुन्। प्रस्तावित राजदूत शर्माले अवरुद्ध तातोपानी नाका सुचारु गर्न तत्काल कूटनीतिक संवाद आवश्यक रहेको र कोरला नाकाको क्षमता अभिवृद्धि गर्नु आजको प्रमुख आवश्यकता भएको बताए। उनले नेपाल–चीन सीमा क्षेत्रको विकट भू–बनोटले सिर्जना गरेका समस्या समाधान गर्दै व्यापारिक ढुवानी सहज बनाउन आफूले सरकारको नीतिबमोजिम सक्दो प्रयास गर्ने उल्लेख गरे। पर्यटन प्रवर्द्धनका सन्दर्भमा उनले चीनको आफ्नै डिजिटल इकोसिस्टमअनुसार प्रचारशैली परिवर्तन गर्नुपर्ने खाँचो औँल्याए। आर्थिक एजेन्डालाई प्राथमिकतामा राखेका शर्माले चिनियाँ लगानीकर्ताहरूलाई नेपालका कृषि, डेरी र मासुजन्य उत्पादनको प्रशोधनमा आकर्षित गर्न सकिने सम्भावना औँल्याए।
उनले भने, ‘चीनमा अहिले लगानी विस्तार भइरहेको छ, नेपालले आफ्नो आवश्यकता र मागअनुसारको वातावरण बनाउन सके चिनियाँ लगानी भित्र्याउन सकिन्छ, जसले व्यापार घाटा कम गर्न मद्दत गर्नेछ। फेसबुक, इन्स्टाग्राम नचल्ने चीनमा उनीहरूकै सामाजिक सञ्जाल र प्लेटफर्ममार्फत नेपालको धार्मिक, सांस्कृतिक र साहसिक पर्यटनको बजारीकरण गर्नुपर्छ।’
छलफलका क्रममा मेडिकल शिक्षा र सेवाको मुद्दा पनि उठेको थियो। नेपाल मेडिकल काउन्सिलको पछिल्लो परीक्षामा चीनबाट पढेर आएका विद्यार्थीको नतिजा कमजोर देखिएको सन्दर्भमा सांसदहरूले चासो व्यक्त गरेका थिए। जवाफमा प्रस्तावित राजदूत शर्माले चीनको आधुनिक चिकित्सा प्रविधि र रोबोटिक्स सर्जरीमा भएको विकासबाट नेपालले लाभ लिन सक्ने र दुई सरकारबीचको सहकार्यबाट मेडिकल हब बन्ने आधार रहेको बताए। उनले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपाल, चीन र भारतले संयुक्त रूपमा ‘अर्ली वार्निङ सिस्टम’ स्थापना गर्नुपर्नेमा जोड दिए।
