काठमाडौं, २६ असोज । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार झिनो अंकले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) चार अंकले बढेर २५९५.८१ अंकमा उक्लेको छ ।
नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार चार अर्ब ८३ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आज ३५४ स्टकको ४९ हजार ७९९ पटकको कारोबारमा एक करोड २७ लाख आठ हजार कित्ता सेयर किनबेच हुँदा चार अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
सोमबार सबैभन्दा बढी कुमारी बैंकको २५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । त्यसपछि घलेम्दी हाइड्रोको १९ करोड ८० लाख रुपैयाँ र साहस ऊर्जाको १९ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज धौलागिरी लघुवित्त कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै, स्नो रिभर्स लिमिटेडको सेयरमूल्य १३.९२ प्रतिशतले बढेको छ ।
