काठमाडौं, २७ असोज । कक्रोच जनता पार्टीका सहसंयोजक सौरभ दास र आशुतोष रान्कालाई प्रहरीले पक्राउ गरेको छ । दिल्लीको जन्तरमन्तरतर्फ अगाडि बढ्ने प्रयास गर्दा प्रहरीले उनीहरूलाई मंगलबार बिहान हिरासतमा लिएको हो ।
भारत सरकारले जन्तरमन्तरमा प्रदर्शन गर्न सोमबारदेखि रोक लगाएको छ । प्रहरीले सिजेपीसँग सम्बन्धित अजिंक्य शिन्देसहित अन्य धेरै समर्थकहरूलाई पनि पक्राउ गरेको छ ।
सिजेपीका संस्थापक अभिजीत दीपकेले यस घटनाबारे सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एउटा भिडियो पोस्ट गरेका छन् । भिडियोमा केही पार्टी समर्थकहरू जन्तरमन्तर पुग्न खोजिरहेको देखिन्छ ।
दीपकेले भिडियोसँगै लेखेका छन्, ‘आज बिहानै सिजेपीका समर्थकहरू तिरंगा बोकेर जन्तरमन्तरमा प्रवेश गरे, त्यसपछि दिल्ली प्रहरीले उनीहरूलाई पक्राउ गर्यो। आशुतोष रान्का, सौरभ दास, अजिंक्य शिन्दे र अन्य टोली सदस्यहरूलाई हिरासतमा लिइएको छ।’
अभिजीत दीपकेले भारतीय प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखेका छन्, ‘नरेन्द्र मोदी, तपाईं विरोध प्रदर्शन समाप्त गर्न सक्नुहुन्न।’
