काठमाडौँ, २७ असोज । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले मंगलबार ओमानविरुद्ध खेल्दैछ । खेल बिहान ११:१५ बजेदेखि मस्कटस्थित अल अमरात क्रिकेट मैदानमा सुरु हुनेछ ।
जारी त्रिदेशीय शृंखलामा नेपाल र ओमान लगातार दोस्रो जितको खोजीमा छन् । नेपालले पहिलो खेलमा क्यानडालाई २४ रनले हराएको थियो ।
यस्तै, ओमानले क्यानडाविरुद्ध ४१ रनको जित निकालेको थियो । नेपाली टोली आज पनि जित निकाल्दै अंक तालिकामा सुधार गर्न चाहन्छ ।
तालिकाको शीर्ष ६ मा रहेर आइसिसी एकदिवसीय मान्यता जोगाउन नेपालका लागि आजको खेल महत्वपूर्ण छ । अंक तालिकामा ओमान चौथो र नेपाल छैटौँ स्थानमा छन् ।
आइसिसीको नियमअनुसार विश्वकप लिग–२ को तालिकामा शीर्ष ६ मा पर्ने टोलीले सोझै एकदिवसीय मान्यता जोगाउनेछन् । तालिकाको पुछारमा रहेका दुई टोलीले एकदिवसीय मान्यता जोगाउन आइसिसी विश्वकप क्वालिफायर प्लेअफ खेल्नुपर्छ ।
