काठमाडौं । नेपाली काँग्रेस संसदीय दलकी प्रमुख सचेतक बासना थापाले बाढी प्रभावित क्षेत्रमा लागू गरिएको ‘एकद्वार प्रणाली’ का कारण महिला तथा बालबालिकाका विशेष आवश्यकता र अधिकारका विषय ओझेलमा परेको बताएकी छन्।
सानेपास्थित काँग्रेस केन्द्रीय कार्यालयमा आयोजित बाढीपहिरो विपद् व्यवस्थापनसम्बन्धी छलफलमा थापाले हालै गरेको स्थलगत अनुगमनका क्रममा उद्धार तथा राहतका केही सकारात्मक प्रयास देखिए पनि वितरण प्रक्रियामा गम्भीर कमजोरी पाइएको बताइन्।
स्थानीय तथा प्रदेश सरकारको समन्वयमा उद्धार र राहतका काम भइरहे पनि स्वास्थ्य, सरसफाइ र महिला तथा बालबालिकासँग सम्बन्धित संवेदनशील विषयमा पर्याप्त ध्यान पुग्न नसकेको उनको भनाइ छ।
थापाले बाढी प्रभावित बालबालिकाको पोषण र स्वास्थ्य अवस्थाप्रति समेत चिन्ता व्यक्त गरिन्। पौष्टिक आहारको अभावमा बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन सक्ने भन्दै उनले आमा र शिशुको विशेष हेरचाहका लागि तत्काल ठोस कदम चाल्न सरकारसँग आग्रह गरिन्।
स्थलगत अनुगमनका क्रममा महिला तथा बालबालिकाको अवस्था निकै कष्टकर पाइएको थापाले बताइन्। विशेषगरी प्रभावित महिलाका लागि आवश्यक स्यानिटरी प्याड तथा हाइजिन किटको अभाव रहेको र केन्द्रबाट पठाइएका सामग्री एकै ठाउँमा थुप्रिए पनि लक्षित महिलासम्म पुग्न नसकेको उनले बताइन्।
एकद्वार प्रणालीका कारण विशेषज्ञ निकायहरूले सहज रूपमा काम गर्न नपाएको भन्दै थापाले स्वास्थ्य, महिला अधिकार तथा बाल संरक्षणका क्षेत्रमा काम गरिरहेका संस्थालाई प्रभावित क्षेत्रमा प्रभावकारी रूपमा काम गर्ने वातावरण बनाउन माग गरिन्।
रेडक्रस लगायत स्वास्थ्य तथा मानवीय क्षेत्रमा काम गर्ने संस्थालाई प्रभावित क्षेत्रमा सहज पहुँच दिनुपर्नेमा उनले जोड दिइन्। प्रभावित नागरिकको आवश्यकता पहिचान गरी राहत वितरणलाई लक्षित र प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो।
– न्युज एजेन्सी नेपाल
