काठमाडौं । चीनतर्फबाट प्राप्त सूचनाअनुसार नदी थुनिएको स्थानमा अझै ताल पूर्ण रूपमा नखुलेको भन्दै भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्रमा बाढीको जोखिम कायमै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले अर्को सूचना जारी नभएसम्म भोटेकोशी र त्रिशूली नदी तथा आसपासका क्षेत्रबाट टाढा सुरक्षित स्थानमा रहन सर्वसाधारणलाई अनुरोध गरेको छ।
नदी थुनिएको स्थानमा पानीको बहाव र जोखिमको अवस्था अझै कायम रहेकाले नदी किनार तथा तटीय क्षेत्रमा नजान र सम्भावित जोखिमबाट बच्न महाशाखाले आग्रह गरेको छ।
महाशाखाले परिस्थितिको निरन्तर निगरानी भइरहेको जनाउँदै थप सूचना तथा जोखिमको अवस्था सार्वजनिक गर्दै जाने जनाएको छ।
