काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको खोज तथा उद्धारलाई पहिलो प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएको छ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद अर्जुननरसिंह केसीले बाढी प्रभावित क्षेत्रमा तत्काल खोज तथा उद्धारको काम अघि बढाउन सरकारसँग आग्रह गरेका छन्। विपद्को समयमा सबै राजनीतिक दल तथा गैरसरकारी संस्थालाई विश्वासमा लिएर राहत तथा उद्धारमा जुट्नसमेत उनले सरकारको ध्यानाकर्षण गराएका छन्।
सांसद केसीले रसुवा–त्रिशूली करिडोर क्षेत्रमा आएको भीषण बाढीबाट रसुवाका दर्जनौँ बस्ती तहसनहस हुनुका साथै प्रहरी तथा विभिन्न जलविद्युत् आयोजनामा कार्यरत मजदुरसमेत सम्पर्कविहीन भएको बताएका छन्।
उनले रसुवामा दर्जनौँ बस्ती प्रभावित भएको, धेरै मानिस हराइरहेको तथा प्रहरीसमेत सम्पर्कविहीन रहेको उल्लेख गर्दै सरकारको पहिलो प्राथमिकता खोज तथा उद्धार हुनुपर्नेमा जोड दिएका छन्। कठिन परिस्थितिमा प्रतिपक्षी दल सरकारको साथमा रहेको समेत उनले बताएका छन्।
उनले भने, “यो कठिन परिस्थितिमा बाढीपीडितको पक्षमा सरकार, राजनीतिक दलहरू र समाज छ भन्ने विश्वास दिलाउन चाहन्छु। यो क्षति यति ठूलो भएको छ कि रसुवाका दर्जनौँ बस्तीहरू समाप्त भएका छन्। त्यहाँ धेरै जना मिसिङ हुनुका साथै प्रहरीसमेत सम्पर्कविहीन भएको अवस्था छ।”
केसीले त्रिशूली–३ए र त्रिशूली–३बीमा काम गर्ने मजदुरसमेत सम्पर्कविहीन भएको जानकारी आइरहेको बताएका छन्। नवलपुरमा १२ वटाभन्दा बढी पक्की पुल ध्वस्त भएको तथा धादिङबेँसी जाने पक्की पुलसमेत क्षतिग्रस्त भएको उनले बताएका छन्।
त्यस्तै, नुवाकोटका देवीघाट र त्रिशूली जलविद्युत् आयोजना क्षतिग्रस्त हुनुका साथै त्रिशूली बजारमा समेत ठूलो क्षति पुगेको उनले बताएका छन्।
विपद्को समयमा सबै राजनीतिक दल, स्थानीय तह तथा स्थानीय सरकारलाई विश्वासमा लिएर राज्यका सबै संयन्त्र परिचालन गर्नुपर्नेमा उनले जोड दिएका छन्। यस्तो विपद्को समयमा सरकारले सबैभन्दा पहिले खोज तथा उद्धारलाई प्राथमिकता दिनुपर्ने उनले बताएका छन्।
बुधबार बिहान तिब्बततर्फबाट आएको बाढीले रसुवा, धादिङलगायतका जिल्लामा ठूलो क्षति पुर्याएको छ।
