काठमाडौं । चीनतर्फ पहिरोका कारण बनेको ताल फुटेको सूचना प्राप्त भएपछि रसुवामा सतर्कता बढाइएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले ताल फुटेको जानकारी आएको पुष्टि गर्दै पानीको सतहसमेत बढ्न थालेको बताएका छन्।
प्रमुख जिल्ला अधिकारी परियारका अनुसार ताल फुटेपछि पानीको बहाव बढ्न सक्ने भएकाले नदी आसपासका क्षेत्रका बासिन्दालाई सतर्क रहनुपर्ने अवस्था छ।
उनले चीनतर्फबाट आगामी तीन दिनसम्म भारी वर्षा हुन सक्ने पूर्वसूचना बिहीबार नै प्राप्त भएको जानकारी दिए। मौसमसमेत प्रतिकूल रहेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सावधानी अपनाउनुपर्ने उनको भनाइ छ।
ताल फुटेसँगै पानीको सतह बढ्न थालेपछि रसुवालगायत नदी तटीय क्षेत्रमा थप जोखिम उत्पन्न हुन सक्ने भन्दै स्थानीय प्रशासनले निगरानी बढाएको छ।
