काठमाडौं । सरकारले रसुवाको केरुङ क्षेत्रमा भोटेकोशी नदी थुनिएको विषयमा चीन सरकारसँग निरन्तर संवाद भइरहेको र हाल तत्काल ठूलो जोखिम नरहेको जनाएको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ पक्षसँग नियमित संवाद भइरहेको जानकारी दिए। चिनियाँ पक्षबाट प्राप्त सूचनाअनुसार तत्काल ठूलो खतराको संकेत नदेखिएको उनले बताए।
केरुङमा भोटेकोशी नदी थुनिएको स्थानबाट पानीको बहाव सतहभन्दा माथि पुगेर ओभरफ्लो हुन थालेकाले तल्लो तटीय क्षेत्रमा भने सावधानी अपनाउन सरकारले आग्रह गरेको छ।
मन्त्री पोखरेलका अनुसार अहिले नदीको बाँध फुटेको अवस्था छैन। केही साना हिमताल फुटेका कारण विभिन्न स्थानमा लेदोसहितको पानी ओभरफ्लो भएको उनले बताए।
तत्काल ठूलो विपद्को जोखिम नदेखिए पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सबैलाई उच्च सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ।
चीनतर्फबाट प्राप्त सूचनाका आधारमा सरकारले अवस्थाको निरन्तर अनुगमन गरिरहेको र जोखिम न्यूनीकरणका लागि आवश्यक तयारीसमेत अघि बढाएको जनाएको छ। नदी किनारका बस्तीमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन तथा आधिकारिक सूचनामात्र विश्वास गर्न सरकारले आग्रह गरेको छ।
