काठमाडौं । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरूको महत्वपूर्ण तथा पवित्र पर्व रक्षाबन्धन आज श्रावण शुक्ल पूर्णिमाका दिन देशभर मनाइँदैछ। विशेषगरी दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, स्नेह र विश्वासको प्रतीकका रूपमा मनाइने यो पर्व नेपालभर विशेष उल्लासका साथ मनाउने गरिन्छ।
रक्षाबन्धनका अवसरमा दिदीबहिनीले आफ्ना दाजुभाइको दाहिने हातको नाडीमा रक्षासूत्र अर्थात् राखी बाँधेर सुख, समृद्धि, सफलता र दीर्घायुको कामना गर्ने परम्परा छ। राखी बाँध्दै गर्दा दाजुभाइले पनि दिदीबहिनीको जीवनभर रक्षा गर्ने तथा सुख–दुःखमा साथ दिने प्रतिबद्धता व्यक्त गर्ने गर्छन्। त्यस अवसरमा दाजुभाइले दिदीबहिनीलाई आफ्नो सामर्थ्यअनुसार उपहारसमेत दिने चलन छ।
धार्मिक तथा सामाजिक दृष्टिले रक्षाबन्धनलाई केवल नाडीमा धागो बाँध्ने पर्वका रूपमा मात्र नभई प्रेम, समर्पण, विश्वास र पारिवारिक सम्बन्धको पवित्रताको प्रतीक मानिन्छ। रक्षासूत्रले दाजुभाइ र दिदीबहिनीबीचको अटुट सम्बन्ध तथा एकताको भावनालाई प्रतिबिम्बित गर्ने विश्वास छ।
रक्षाबन्धनको पौराणिक सम्बन्ध देवराज इन्द्रसँग जोडिएको पाइन्छ। धार्मिक कथनअनुसार देवासुर संग्रामका क्रममा देवताहरूको विजय सुनिश्चित गर्न इन्द्राणीले देवराज इन्द्रको दाहिने हातमा रक्षासूत्र बाँधिदिएकी थिइन्। सोही रक्षासूत्रको प्रभावले इन्द्रले असुरमाथि विजय प्राप्त गरेको धार्मिक विश्वास रहिआएको छ।
नेपालको मिथिलाञ्चल क्षेत्रमा रक्षाबन्धनको विशेष सांस्कृतिक महत्व रहेको छ। यस अवसरमा दाजुभाइ–दिदीबहिनीबीच राखी बाँध्ने, आशीर्वाद तथा उपहार आदानप्रदान गर्ने र पारिवारिक जमघट गर्ने परम्परा छ।
रक्षाबन्धनले पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै समाजमा प्रेम, विश्वास, कर्तव्यबोध, आपसी सहयोग र सद्भावको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
