काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढी तथा विभिन्न जिल्लामा गएको पहिरोका कारण हालसम्म ७३४ जनाको मृत्यु भएको पुष्टि भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार बिहान ९ बजेसम्मको विवरणमा २ हजार ४९८ जना अझै सम्पर्कविहीन छन्।
प्राधिकरणका अनुसार बाढी तथा पहिरोबाट सबैभन्दा बढी चितवनमा २५९ जनाको शव फेला परेको छ। त्यस्तै, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १३ जनाको शव फेला परेको छ। फेला परेका शवमा विभिन्न मानव अङ्गसमेत रहेको प्राधिकरणले जनाएको छ।
सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २७, नेपाली सेनाका ४५ र सशस्त्र प्रहरीका १३ जना सुरक्षाकर्मी रहेका छन्। त्यस्तै, भन्सार तथा अध्यागमनका कर्मचारी, जलविद्युत आयोजनाका ९३३ कामदार र ५८९ जना विदेशी नागरिकसमेत बेपत्ता रहेको विवरणमा उल्लेख छ। रसुवा, नुवाकोट र मकवानपुरबाट ठूलो सङ्ख्यामा स्थानीय बासिन्दा बेपत्ता भएको जनाइएको छ।
उद्धार कार्यका क्रममा हालसम्म ८ हजार १८६ जनाको जीवितै उद्धार गरिएको छ। उद्धार तथा खोजी कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी १९ हजार ८९५ सुरक्षाकर्मी परिचालन गरिएको छ। जलविद्युत आयोजनाका सुरुङमा थुनिएका २७९ जना तथा २२७ जना विदेशी नागरिकलाई हेलिकप्टरमार्फत उद्धार गरिएको प्राधिकरणले जनाएको छ।
बाढी तथा पहिरोमा परी घाइते भएका २४२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
सरकारले प्रभावित क्षेत्रमा राहत वितरणलाई तीव्रता दिएको छ। रसुवा र नुवाकोटलाई एक–एक करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराइएको छ। प्रभावित १५ वटा स्थानीय तहका लागि कुल ६ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ।
राहत सामग्रीअन्तर्गत हालसम्म ३७ ट्रक खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ। हेलिकप्टरमार्फत सात उडान गरी अत्यावश्यक सामग्री पुर्याइएको छ। उत्तरगया र धुन्चे क्षेत्रमा मात्रै दुई टन खाद्य सामग्री पठाइएको छ। सञ्चार सेवा अवरुद्ध भएका स्थानमा सञ्चार सेटसमेत पठाइएको प्राधिकरणले जनाएको छ।
पहिचान हुन नसकेका शवलाई विभिन्न जिल्लाका २१ वटा अस्पतालमा सुरक्षित राखिएको छ। मृतकको पहिचानका लागि नेपाल प्रहरीले ‘डिजास्टर पोर्टल’ तथा प्राधिकरणले आफ्नो फेसबुक पेजमार्फत विवरण सार्वजनिक गरेको जनाएको छ।
यसैबीच, इन्धन आपूर्तितर्फ नुवाकोटका विभिन्न आयल स्टोरमा ३६ हजार लिटर डिजेल र २४ हजार लिटर पेट्रोल मौज्दात रहेको छ। हवाई इन्धनको मौज्दात १४ हजार लिटर रहेको र हालसम्म २५ हजार लिटर खपत भइसकेको प्राधिकरणले जनाएको छ।
