काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण संकलित शव व्यवस्थापनमा समस्या भएपछि काठमाडौंमा समेत शवलाई जमिनमा गाडेर व्यवस्थापन प्रक्रिया सुरु गरिएको छ।
देशभरका अस्पतालका शवगृहको क्षमता भन्दा बढी शव संकलन भएपछि सरकारले तोकिएका सरकारी वन क्षेत्रमा शव व्यवस्थापन गर्न थालेको हो। स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका शवगृहमा करिब ६ सय शव मात्र राख्न सक्ने क्षमता छ भने हालसम्म करिब एक हजार शव संकलन भइसकेका छन्।
पहिचान खुल्न नसकेका शवलाई फरेन्सिक प्रक्रिया तथा आवश्यक नमुना संकलनपछि अस्थायी रूपमा व्यवस्थापन गर्न थालिएको हो। सनाखत भएका शव भने कानुनी प्रक्रिया पूरा गरी परिवार तथा आफन्तको जिम्मा लगाइएको छ।
बेपत्ता नागरिकको खोजी जारी रहेकाले आगामी दिनमा शवको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
