संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले रसुवा बाढीका कारण पर्यटन क्षेत्रमा करिब ५० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको जानकारी दिए।
बुधवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा उनले प्रारम्भिक चरणमा ५० अर्ब रुपैयाँभन्दा बढीको क्षतिको मूल्याङ्कन गरेको जानकारी दिए। उनले क्षेत्रगत रूपमा सबै व्यवसायीलाई क्षतिको विवरण संकलन गरी प्रतिवेदन पेस गर्न पनि आग्रह गरिसकेको जानकारी दिए।
बाढीका कारण ठूलो मानवीयसँगै भौतिक क्षति नेपालले व्यहोर्नुपरेको उनले बताए। बाढीले १ सय ४२ वटा होटल, ५७ वटा साना रेस्टुरेन्ट, १ सय ४१ वटा पर्यटन व्यवसायसँग सम्बन्धित सवारीसाधन र २७ वटा सम्पदा बगाएको उनले जानकारी दिए। मन्दिर, मस्जिद, गुम्बा र सन्धिशिला बगाएको उनले बताए।
लाङटाङ राष्ट्रिय निकुञ्ज, गोसाइँकुण्ड, पार्वती कुण्ड, नाचेली लगायतका क्षेत्रमा जाने प्रमुख पदमार्गमा समेत बाढीले क्षति गरेको उनले बताए। उनले नेपालले आफूले नगरेको गल्तीको दोषको भागीदार बन्नुपरेको उल्लेख गरे।
उनले बाढीलगत्तै निजी क्षेत्रका हेलिकप्टरलाई एकीकृत गरेर एकद्वार प्रणालीबाट उद्धारको काम गरिएको जानकारी दिए। पछिल्लो समय भने दैनिक पाँच वटा हेलिकप्टर उडानका लागि छुट दिने गरिएको बताए। त्योबाहेक सरकारले मात्रै हेलिकप्टर प्रयोग गरिरहेको उनको भनाइ थियो।
उनले प्रभावित पर्यटकलाई पोखरा, चितवन, काठमाडौं लगायतका होटल व्यवसायीले निःशुल्क खान–बस्न सहयोग गरेको जानकारी दिए।
उनले भने, ‘हामीले पर्यटन क्षेत्रको क्षेत्रगत प्रारम्भिक क्षतिको मूल्याङ्कन गर्दाखेरि ५० अर्बभन्दा बढी भएको मूल्याङ्कन गरेका छौँ। त्यसले भविष्यमा पार्ने असरलाई पनि हामीले मूल्याङ्कन गरेका छौँ। सबैको मूल्याङ्कन गर्दा ५० अर्बभन्दा बढीको क्षति भएको अनुमान छ। हामीले सबै व्यवसायीलाई आ–आफ्नो क्षेत्रको क्षतिको विवरण पेस गर्न आग्रह पनि गरिसकेका छौँ।’
उनले रसुवा बाढी प्रभावित क्षेत्रमा क्लाइमेट हेरिटेजका रूपमा विकास गरिने जानकारी दिए। सो क्षेत्रमा पार्क, मूर्ति, सङ्ग्रहालय लगायतका संरचना बनाइने बताए।
जलवायु परिवर्तनका कारण रसुवामा आएको बाढीले नेपालले बढी क्षति व्यहोर्नुपरेको भए पनि अरू देश पनि यसबाट प्रभावित बनेको उनको भनाइ थियो। उनले चालू आर्थिक वर्षको बजेटमा नै हिमाललाई ग्लोबल क्लाइमेट हेरिटेजका रूपमा व्याख्या गर्ने र स्वीकृतिका लागि विश्व समुदायसँग आग्रह गर्ने विषय उल्लेख गरेको बताउँदै त्यसलाई तदारुकताका साथ अगाडि बढाउने बताए।
