राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. धनञ्जय रेग्मीले प्राकृतिक विपत्तिका कारण नेपालको पर्यटनमा परेको असर न्यूनीकरण गर्न सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र एकजुट हुनुपर्ने बताए।
बुधवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा उनले रसुवा बाढीपछि नेपालको पर्यटन क्षेत्रमा केही असर देखिने बताए। उनले पर्यटन पुनरुत्थानका लागि नेपाली सङ्घसंस्थासँगै अन्तर्राष्ट्रिय पर्यटन संस्था तथा विदेशस्थित नेपाली नियोगलाई पनि तत्काल परिचालन गर्नुपर्ने बताए।
उनले विपत्तिपछि पनि नेपाल पर्यटनका लागि खुला रहेको सन्देश विश्वभर पुर्याउन आवश्यक रहेको बताए। प्राकृतिक विपत्ति कुनै एक देश वा व्यक्तिको नियन्त्रणमा नरहेको भन्दै उनले यसलाई त्यही रूपमा अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्नुपर्नेमा जोड दिए।
नेपालमा विपत्ति भए पनि देशका सबै पर्यटकीय गन्तव्य प्रभावित नभएकोले ‘नेपाल खुला छ’ भन्ने सन्देश विश्व पर्यटन बजारमा तत्काल पुर्याउनुपर्ने उनको भनाइ थियो।
उनले नेपालले अन्तर्राष्ट्रिय संस्थालाई तिर्दै आएको सदस्यता तथा अन्य शुल्कलाई पर्यटन प्रवर्द्धनमा उपयोग गर्ने समय आएको बताए। उनका अनुसार नेपालले संयुक्त राष्ट्रसंघको विश्व पर्यटन संगठनलाई वार्षिक रूपमा रकम तिर्दै आएको छ। त्यस्ता संस्थासँगको सम्बन्धलाई अहिले प्रभावकारी सञ्चार र नेपालको वास्तविक अवस्था सार्वजनिक गर्न प्रयोग गर्नुपर्ने उनको भनाइ थियो।
उनले भने, ‘अहिले नेपाल आउ भनेर कोही आउनेवाला छैन। यो प्राकृतिक विपत्ति हो, यो जहाँ पनि आउन सक्छ। यो नेपालमा पहिलो होइन र यो अन्तिम पनि होइन। यस्ता घटना कहीँ पनि हुन सक्छन्। भोलि बिहानै हुन सक्छ, १०औँ वर्ष नहुन पनि सक्छ। जुन देशमा जहाँ पनि हुन सक्छ। भनेपछि यसलाई यहीअनुसार बुझाउने हो। इट इज अ नेचुरल डिजास्टर। यसमा कसैको पनि दोष छैन भन्दाखेरि ग्लोबलकै एक–एक सिटिजन जसले थोरै पनि ग्रीन हाउस उत्सर्जनमा पुर्याएको छ भनेपछि पुरै ह्युम्यानिटीको सबैको छ। नेपालीले मेरो छैन भन्न पनि मिल्दैन, हाम्रो पनि केही न केही अंश थोरै होला, छ। दुनियाँको छ। अब नेपाल खुला छ भन्ने म्यासेजलाई संसारभर पुर्याउन आवश्यक छ।’
‘सबैभन्दा पहिला हामीले जसलाई पेमेन्ट गरेका छौँ, तिनीहरूलाई सक्रिय बनाउनुपर्छ। मन्त्रालयले यूएनडब्लुटीओलाई वर्षको ५० हजार डलर तिर्छ। उनीहरूसँग अब सहयोग लिने बेला हो। ५० हजार डलर केका लागि तिरेका छौँ हामीले? उनीहरूसँग सहयोग लिने बेला यो हो। दोस्रो, एनटीबीले पाटाको २५ हजार डलर वार्षिक रूपमा मेम्बर भएको इन्टरनेसनल पाटालाई तिर्छ। आज पाटाको ग्लोबल्ली जति पनि मिडिया छ, उनीहरूसँग पर्यटनको इन्फर्मेसन दिने एउटा राम्रो प्लेटफर्म छ। उनीहरूले यो जुन हामी इन्फर्मेसन दिन चाहन्छौँ, नेपाल नाउको यसमा अपडेट हुन्छ है भनेर पहिला यिनीहरूबाट दिऔँ।’
‘त्योबाहेक नेपाल पर्यटन बोर्ड लगायतका हाम्रा साथीहरूले विभिन्न फेम ट्रिपहरू अर्गनाइज गर्ने गर्नुभएको छ। हान, टान, नाटा, पाटाले सबैले गर्दै आएकोमा कति छन् इन्फ्लुएन्सरहरू, जसले नेपालमा हाम्रो निमन्त्रणामा आए? ती सबैको लिस्ट बनाएर ती सबैलाई परिचालन गरौँ। नेपाल ओपन भन्ने जुन म्यासेज दिन छ, त्यो प्रत्येक वेबसाइट खोल्नेबित्तिकै देखिनुपर्यो। यो एउटाको एनटीबी अथवा मन्त्रालयले गरेर मात्र पुग्दैन। वी आर टकिङ अबाउट द ग्लोबल अडियन्समा पुग्नुपर्ने हिसाबले गर्नुपर्छ।’
उनले अन्तर्राष्ट्रिय पर्यटनसम्बन्धी संस्थाका सञ्चार प्लेटफर्ममार्फत पनि नेपाल सुरक्षित तथा पर्यटकका लागि खुला रहेको सूचना तत्काल प्रसार गर्नुपर्नेमा जोड दिए। नेपाल खुला छ भन्ने सन्देश एउटा मन्त्रालय वा नेपाल पर्यटन बोर्डले मात्र दिएर नपुग्ने उनको भनाइ थियो।
विदेशस्थित नेपाली दूतावास तथा नियोगलाई समेत तत्काल सक्रिय बनाउनुपर्नेमा उनले जोड दिए। राजदूत नभएको अवस्थामा पनि दूतावासका उपप्रमुख, डीसीएम तथा अन्य कर्मचारीलाई परिचालन गरी सम्बन्धित देशको भाषामा नेपालको वास्तविक अवस्थाबारे सूचना प्रवाह गर्नुपर्ने उनको भनाइ थियो।
