प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले रसुवाको भोटेकोशीमा आएको बाढीप्रभावित क्षेत्रमा खोज, उद्धार र राहत वितरणको गति बढाउन सरकारसँग माग गरेका छन् ।
प्रतिनिधि सभाको बिहीवारको बैठकको आकस्मिक समयमा बोल्दै उनीहरुले यस्तो माग गरेका हुन् । बाढीमा परी सम्पर्कविहीन भएका नागरिकका आफन्तहरु अझै पनि आफन्त फर्किने आशामा बसिरहेको उनीहरुको भनाइ छ ।
सांसद मनमाया विश्वकर्माले विपद्को समयमा खोजी कार्यलाई अझ तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराएकी छन् । उहाँले आगामी दिनमा आउनसक्ने सम्भावित विपद्को पूर्वतयारीमा जुट्न समेत सरकारको ध्यानाकर्षण गराएकी छन् । उहाँले विपद्को संकटलाई मध्यनजर गर्दै दीर्घकालीन रणनीति तयार गर्न समेत सरकारसँग माग गरेकी छन् ।
उहाँले भनिन्, ‘यस विपत्तीको समयमा सरकारले खोजी कार्यलाई अझ तीव्र बनाओस् । र विपद्बाट भविष्यमा पर्न जाने संकटलाई मध्यनजर गर्दै सरकारले रणनीति तयार गर्न पनि म यसै सम्मानित सदनमार्फत जोडदार माग गर्दछु ।’
सांसद सन्दीप रानाले रसुवाको भोटेकोशी बाढीमा परी लुम्बिनी प्रदेशका २ सय ५५ जना नागरिक अझै सम्पर्कविहीन रहेको उल्लेख गरेका छन् । उहाँले सरकारले विपद्पछि खोज तथा उद्धारमा तदारुकता देखाउन नसकेको भन्दै असन्तुष्टि समेत जनाएका छन् । उहाँले राजनीतिक दल, नागरिक समाज र सबै पक्षलाई साथमा लिएर खोज, उद्धार र राहत वितरण प्रक्रियालाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
उहाँले भने, ‘यस राष्ट्रिय आपदामा लुम्बिनी प्रदेशमा समेत ठूलो मानवीय क्षति भएको छ । अझै पनि २५५ जना सम्पर्कविहीन हुनुभएको छ । उहाँहरुको खोजी तीव्र बनाउन नेपाल सरकारसँग माग गर्दछु । र यस विपद्को घडीमा पक्ष विपक्ष सबैलाई एकसाथमा लिएर र हामीलाई समेत कहाँ प्रयोग गर्नुपर्छ प्रयोग गरेर सरकारले खोज, उद्धार र राहत वितरणको गति बढाओस् भन्ने कुरा राख्न चाहन्छु । राष्ट्रिय आपदाको समयमा हामी सरकारलाई पूर्ण रुपमा सहयोग गरेर सामना गर्नको लागि कटिबद्ध छौँ ।’
सांसदहरुले छिमेकी राष्ट्रबाट आवश्यकताअनुसार प्रविधि र जनशक्ति सहयोग मागेर भएपनि उद्धार कार्यलाई प्रभावकारी बनाउन माग गरेका छन् ।
