१० भदौको रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट शुक्रबार उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको अवस्था सामान्य रहेको छ।
उद्धारलगत्तै छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा चिकित्सकको निगरानीमा रहनुभएका साहको स्वास्थ्य अवस्था सामान्य र स्थिर छ। साहको उद्धार भएपछि परिवारजन सरप्राइज भएको उहाँका आफन्त देवकुमार साहले बताएका छन्। उहाँका अनुसार अहिले सञ्जयको परिवारका सदस्यहरू उहाँलाई भेट्न काठमाडौं आइरहनुभएको छ। नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र प्राविधिक विज्ञहरूको संयुक्त टोलीले शुक्रबार बिहान मात्र उहाँको उद्धार गरेको थियो।
उहाँले भन्नुभयो, ‘सञ्जय साह मेरो बहिनी ज्वाइँ हुनुहुन्छ, हामी सरप्राइज नै भयौँ। यतिधेरै दिन भइसकेको थियो, विस्तारै उहाँ फर्किने आशा मर्दै गएको थियो। अहिले चमत्कारजस्तै भयो। उहाँको परिवारमा पनि खुसीको सीमा छैन। अहिले उहाँको परिवार आइरहनुभएको छ, कति बेला पुग्नुहुन्छ ? सायद २, ३ बजे पुग्नुहुन्छ कि।’
सुरुङभित्र अन्य व्यक्तिहरू पनि हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै नेपाली सेनासहितको प्राविधिक टोलीले उद्धार जारी राखेको छ।
