काठमाडौं । नेपाली युवा बक्सर अविरल घिमिरेले जापानमा आयोजित ‘हिट किक बक्सिङ–५९’ को विश्व च्याम्पियनसिप उपाधि जितेका छन्।
नागोयास्थित करिया हलमा भएको मुख्य प्रतिस्पर्धामा अविरलले साविक विजेता फ्रेन्च बक्सर माथन चोइनार्डलाई दोस्रो राउन्डको दोस्रो मिनेटमै नकआउट गर्दै उपाधि आफ्नो नाममा पारे।
अविरलको शक्तिशाली मुक्का सहन नसकेर चोइनार्ड रिङमै ढलेपछि रेफ्रीले नकआउटका आधारमा अविरललाई विजेता घोषणा गरेका थिए।
यससँगै ‘हिमालयन चितुवा’ उपनामले परिचित अविरल विश्व च्याम्पियन बन्ने पहिलो नेपाली बक्सर बनेका छन्। २९ अन्तर्राष्ट्रिय खेल खेलेका अविरलले हालसम्म २१ जित निकालेका छन्, जसमा २० जित नकआउटमार्फत हासिल गरेका छन्।
