एजेन्सी । इन्डोनेसियाको सक्रिय अनाक क्राकाताउ ज्वालामुखी विस्फोट भएपछि निस्किएको ज्वालामुखीय खरानीले हवाई उडान प्रभावित भएका छन् । खरानीको प्रभाव बढेपछि जकार्तास्थित सोकार्नो–हाट्टा अन्तर्राष्ट्रिय विमानस्थलका केही उडान अस्थायी रूपमा रद्द गरिएको छ ।
सुन्डा जलसन्धिमा रहेको अनाक क्राकाताउ आइतबार बिहान ३ बजेर ५३ मिनेटमा विस्फोट भएको इन्डोनेसियाको भू–गर्भ तथा ज्वालामुखी निगरानी निकायले जनाएको छ । करिब ३० सेकेन्डसम्म भएको विस्फोटका क्रममा ज्वालामुखीबाट लाभाको ज्वाला निस्किएको दृश्य निगरानी क्यामेरामा कैद भएको थियो ।
विस्फोटपछि निस्किएको खरानी जकार्तासहित बान्टेन, पश्चिम जाभा र सुमात्राको लाम्पुङ क्षेत्रसम्म फैलिएको छ । हवाई सुरक्षालाई ध्यानमा राख्दै विमानस्थलमा उडान सञ्चालनमा अस्थायी प्रतिबन्ध लगाइएको हो ।
हालसम्म विस्फोटबाट मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन । यद्यपि, स्थानीय बासिन्दा तथा पर्यटकलाई सावधानी अपनाउन र ज्वालामुखीको सक्रिय क्रेटरबाट कम्तीमा तीन किलोमिटर टाढा रहन अधिकारीहरूले आग्रह गरेका छन् ।
