नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा भइरहेका प्राकृतिक विपद् र यसले पु¥याएको क्षतिबारे गम्भीर समीक्षा र बहस हुनुपर्ने बताएका छन् ।
आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा बोल्दै थापाले वर्तमान अवस्थामा उद्धार कार्यलाई प्राथमिकता दिनुपर्ने र त्यसपछि घटनाका कमजोरीहरूबारे निष्पक्ष छलफल हुनुपर्ने बताएका छन् । सभापति थापाले जलविद्युत आयोजना र सुरुङ (टनेल) निर्माणका क्रममा विपद् व्यवस्थापनको पाटोलाई विशेष ध्यान दिनुपर्ने औँल्याएका छन् । नेपालका विभिन्न स्थानमा रहेका हाइड्रोपावर र टनेलहरूमा विपद्का बेला हुनसक्ने जोखिम र त्यहाँबाट गरिने उद्धार कार्य चुनौतीपूर्ण रहेको उनको भनाइ छ ।
त्रिशूली क्षेत्रमा भएको पछिल्लो दुर्घटना र अन्य प्राकृतिक विपदका घटनालाई इङ्गित गर्दै उनले भनेका छन्, ‘अहिले हामी केही दिन उद्धार कार्यमै केन्द्रित हुनुपर्छ । तर यो चरण सकिएपछि कहाँ, कसरी र किन कमजोरी भयो भन्नेबारे वस्तुनिष्ठ र निष्पक्ष बहस हुन जरुरी छ । यस्ता कमजोरी संस्थागत हुन् वा व्यक्तिगत, यसबारे संसद् र आम नागरिकले प्रस्ट जानकारी पाउनुपर्छ । प्राकृतिक विपद्का बेला टनेलबाट उद्धार गर्ने सन्दर्भमा हामीले यथेष्ट काम गर्नुपर्ने देखिएको छ । यो आयोजनाको डिजाइनकै क्रममा गरिनुपर्ने कार्य हो वा नयाँ प्रविधिको आवश्यकता हो, यसमा प्राविधिक स्पष्टता जरुरी छ ।’
उनले पूर्वाधार निर्माणकै क्रममा विपद्को पूर्वतयारी, आवश्यक उपकरणको व्यवस्था र नयाँ प्राविधिक ज्ञानको सुनिश्चितता हुनुपर्नेमा सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । यसपालिको घटनाबाट सिकेर भविष्यमा हुनसक्ने जोखिम न्युनिकरणका लागि प्रविधिको प्रयोग र तयारीमा ढिलाइ गर्न नहुने उनले उल्लेख गरेका छन् ।
