काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपाल–तिब्बत सीमाक्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
अस्ट्रेलियाली संसद्मा सम्बोधन गर्दै प्रधानमन्त्री अल्बानिजले विपद्बाट प्रभावित नेपाल र नेपाली समुदायप्रति ऐक्यबद्धता जनाउँदै आवश्यक सहयोगका लागि अस्ट्रेलिया तयार रहेको बताएका छन्।
नेपालले राष्ट्रिय शोक दिवस मनाइरहेका बेला उनले ‘नेपाली मित्रहरू’ले यो दुःख एक्लै बोक्न नपर्ने भन्दै शोकको घडीमा अस्ट्रेलिया नेपाली जनताको साथमा रहेको बताएका हुन्।
उनले अस्ट्रेलियाली नागरिकलाई आपत्कालीन सहायता कोषमा योगदान गर्न, प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउन तथा उनीहरूका लागि आशा र प्रार्थना कायम राख्न आग्रह गरेका छन्।
अल्बानिजले विपद्मा ३६ जना अस्ट्रेलियाली नागरिक अझै सम्पर्कविहीन रहेको जानकारी दिँदै उनीहरूको खोजी तथा परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन सरकार निरन्तर प्रयासरत रहेको बताए।
राष्ट्रिय शोक दिवसका अवसरमा अस्ट्रेलियामा रहेका नेपाली, तिब्बती र भारतीय समुदायसँग त्यहाँका गभर्नर तथा अधिकारीहरूले भेट गरी सहानुभूति व्यक्त गरेका छन्।
यसअघि शुक्रबार प्रधानमन्त्री अल्बानिजले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन वार्ता गर्दै बाढीपहिरोबाट भएको त्रासदीप्रति समवेदना व्यक्त गरेका थिए।
