सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा.धनञ्जय रेग्मीले जलवायु परिवर्तन र हिमनदीबारे अनुसन्धान तथा तथ्यांक संकलन गर्न सरकारले विश्वविद्यालयहरुलाई आर्थिक सहयोग गर्नुपर्ने बताएका छन्।
राजधानीमा आयोजित ‘विपद् उत्थानशीलता र दीगो मित्रताका लागि नेपाल–चीन सहकार्य’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले जलवायु परिवर्तनबारे अध्ययन तथा अनुसन्धान गर्न सरकारले त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयलाई पर्याप्त सहयोग नगरेको तथा विदेशी संघसंस्थाका परियोजनामार्फत मात्र अध्ययन हुने गरेको बताएका छन्।
उनले जलवायु परिवर्तन र यसको असरबारे तथ्यांकको अभाव हुनुमा विगतका सरकारहरुको नीति तथा कार्यशैली जिम्मेवार रहेको बताएका छन्। सरकारी निकायले आफ्नै तथ्यांकलाई मात्र मान्यता दिने तथा निजी क्षेत्रका तथ्यांकलाई आत्मसाथ नगर्ने प्रवृत्तिले अनुसन्धानमा समस्या भएको उनको भनाइ छ। उनले हिमालको अध्ययनको लागि व्यक्तिगत रुपमा ड्रोन उडाउन समेत प्रक्रियागत समस्या हुने गरेको बताएका छन्।
नेपालमा उत्पादन भएका जलवायु विज्ञलाई स्वदेशमै अध्ययन गर्ने वातावरण सरकारले बनाउनुपर्नेमा उनको जोड छ। उनले नेपालले हानि तथा नोक्शानी कोषबाट क्षतिपूर्ति दाबी गर्नको लागि विश्वभरका जलवायु विज्ञहरुलाई नेपालमा आएर अध्ययन तथा अनुसन्धानमा सहयोग गर्न आह्वान गर्नुपर्ने बताएका छन्।
उहाँले भन्नुभयो, ‘हामीले कार्बनउत्सर्जन गर्दैनौँ । ग्लोवल टेम्परेचर बढाउनमा हाम्रो कुनैपनि योगदान छैन । तर खोइ त डेटा ? त्रिभूवन विश्वविद्यालयलाई हामी फण्ड नै दिँदैनौँ । काठमाडौं विश्वविद्यालयलाई पनि फण्ड नै दिँदैनौँ । विदेशतिरबाट आएका एकदुई वटा कोल्याबोरेसनमा काम गरेका परियोजनाहरु होलान् । डेटा हुनेले पब्लिस गर्छ । हाम्रा स्टेटले गरेका अध्ययनलाई रिकोगनाइज नै गर्दैन । सरकारले गरेको मात्र राम्रो हो भन्ने छ । सरकारका निकायहरुमा जाँदा उनीहरुले भनेकै तथ्यांक देखाउनुपर्छ । उनीहरुले भनेका कुरामा तपाईंहरुले खोट देखाउन पनि पाउनुहुन्न । कसैले सरकारबाट सम्भव भएन आफैँ ड्रोन लिएर अध्ययन गर्छुभन्दा पहिले विमानस्थलले छेक्छ । गृहमन्त्रालयबाट पनि अनुमति लिएर आउनुहोस् भन्छ । त्यति मात्र होइन । एकजनालाई फेरी दुई हजार डलर दिएर जानुपर्छ भन्छन् । १ हजार २ सय पर्ने ड्रोन त्यो पनि २ सय मिटरभन्दा तल उडाउँछौँ । भन्दा पनि अध्ययन गर्न गाह्रो बनाएको छ । सरकारकै नीति नियमको कारण यो समस्या भएको होइन । यो कुरा परिवर्तन लागेको छुँ पक्कै पनि यो कुरा परिवर्तन गर्न सफल हुनेछौँ । आज हामीसँग डाटा किन छैन त भन्दा हामीसँग मेनपावर पनि छ, स्रोत पनि तर काम गर्ने वातावरण हामीले दिँदै दिएनौँ । अब हामीले विश्वभरका हिमनदि विज्ञ तथा जलवायुको क्षेत्रमा काम गरेका सबै विज्ञहरुलाई नेपाल आउनको लागि आह्वान गरौँ । ६ महिना समय खर्चिएर गर्नुपर्छ । नेपालमा उत्पादन भएका जलवायु विज्ञहरु समेत पलायन भएका छन् यो कुरा पनि रोक्नुपर्छ । नेपालमा संसारको सबैभन्दा ठूलो हिमाल छ, संसार आएर यहाँ नै अध्ययन गर्नुपर्नेछ । अनि हामीले उत्पादन गरेको जनशक्ति सबै विदेश गएर बसनुपर्ने जस्तो विडम्बना छ, अनि डेटा खोज्ने हामीले ? विगतमा राज्यले नेपालका वैज्ञानिकहरुलाई गरेको व्यवहारको कारण आज हामी डेटाको अभावमा बाँचेका छौँ।’
सांसद रेग्मीले जलवायु अध्ययनका लागि नेपाललाई अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्।
