जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपालले अन्तर्राष्ट्रिय समुदायसँग राहत मात्र नभई जलवायु परिवर्तनका कारण भएको क्षतिको न्यायसहित क्षतिपूर्ति माग्नुपर्ने बताउनुभएको छ ।
रसुवाको भोटेकोशी बाढी प्रभावित नागरिकका लागि जनकपुरधाम उद्योग वाणिज्य संघको सक्रियतामा संकलित राहत सामग्री सार्वजनिक गर्ने कार्यक्रममा मंगलबार बोल्दै मुख्यमन्त्री यादवले जलवायु परिवर्तनमा ठूलो योगदान गर्ने विकसित मुलुकका कारण नेपालजस्ता देशले प्राकृतिक विपत्तिको मार खेप्नुपरेको बताउनुभयो ।
उहाँले चीन, भारत र अमेरिकाजस्ता मुलुकको उच्च कार्बन उत्सर्जनको असर नेपालले बाढी, पहिरो तथा हिमताल पग्लिनेजस्ता विपत्तिका रूपमा भोगिरहेको दाबी गर्नुभयो ।
मुख्यमन्त्री यादवले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको विषयलाई सशक्त रूपमा उठाउनुपर्ने बताउँदै संघीय सरकारलाई पनि यस विषयमा प्रभावकारी पहल गर्न आग्रह गर्नुभयो । जलवायु परिवर्तनबाट नेपालले भोगेको क्षतिको उचित क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय समुदायसँग गम्भीर छलफल आवश्यक रहेको उहाँको भनाइ थियो ।
भोटेकोशीमा बाढी आएको दिन नै प्रदेश सरकारले राहतका लागि प्रारम्भिक निर्णय गरेको जानकारी दिँदै मुख्यमन्त्री यादवले प्रदेश सरकारका मन्त्री तथा कर्मचारीको एक दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको बताउनुभयो ।
उहाँका अनुसार दोस्रो चरणमा करिब दुई करोड रुपैयाँ बराबरका टेन्ट तथा कम्बल बाढी प्रभावित क्षेत्रमा पठाउने तयारी भइरहेको छ । त्यसपछि खाद्यान्न, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्री पठाउने योजना प्रदेश सरकारको रहेको उहाँले जानकारी दिनुभयो ।
यसअघि मधेस प्रदेश सरकारले भोटेकोशी तथा त्रिशूली क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि करिब एक करोड ९६ लाख रुपैयाँ बराबरको राहत सामग्री पठाउने निर्णय गरिसकेको थियो ।
यता, जनकपुरधाम उद्योग वाणिज्य संघले बाढी प्रभावित परिवारका लागि खाद्यान्न, लत्ताकपडा, जुत्ताचप्पल, कम्बल, भाँडाकुँडा लगायतका सामग्री संकलन गरेको छ ।
संघले ७५ बोरा चामल, २१ बोरा सोयाबिन, दाल, नुन, चिउरा, मुरही, चाउचाउलगायत खाद्य सामग्री संकलन गरेको जनाएको छ । त्यस्तै, विभिन्न प्रकारका लत्ताकपडा, जुत्ताचप्पल, कम्बल, बेडसिट, टावेल तथा बालबालिकाका कपडासमेत राहत सामग्रीमा समावेश छन् ।
बाढी प्रभावित परिवारको दैनिक आवश्यकतालाई ध्यानमा राख्दै ७५ थान तावा, ७५ थान कराही, २०० थान थाली, २०० थान कचौरा र २०० थान गिलासलगायत भान्सामा प्रयोग हुने सामग्री पनि संकलन गरिएको छ । राहत सामग्रीमा एउटा सिलाई मेसिनसमेत रहेको छ ।
विपद्को समयमा पीडित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले व्यवसायी, सहयोगी तथा विभिन्न संघसंस्थाको सहकार्यमा राहत सामग्री संकलन गरिएको राहत संकलन समितिका संयोजक जितेन्द्र महासेठले जानकारी दिनुभयो ।
उहाँका अनुसार राहत सामग्री पीडित परिवारसम्म नपुगेसम्म अभियान जारी रहनेछ । संकलित राहत सामग्री लिएर संघको टोली बुधबार बिहान बाढी प्रभावित क्षेत्रमा प्रस्थान गरेको छ ।
मुख्यमन्त्री यादवले विपद्को समयमा जनकपुरधामका उद्योगी, व्यवसायी तथा नागरिकले देखाएको मानवीय सहयोगको प्रशंसा गर्दै राहत सामग्री वास्तविक पीडितसम्म न्यायोचित रूपमा पुर्याउन आग्रह गर्नुभयो । उहाँले विपद्का बेला सबै क्षेत्र र समुदाय एकजुट भएर प्रभावित नागरिकलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
मुख्यमन्त्री यादवले देशमा शान्ति, अमनचयन कायम होस् र नागरिकको भविष्य सुरक्षित रहोस् भन्दै माता जानकीसँग प्रार्थनासमेत गर्नुभयो ।
