काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सांसद बलावती शर्माले जेन–जी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोग र गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग माग गरेकी छन्।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले सामाजिक सञ्जाल प्रतिबन्ध, सुशासन र तत्कालीन सत्ताका बेथितिविरुद्ध जेन–जीले गरेको आन्दोलन पवित्र रहेको बताइन्।
तर २४ भदौमा मुलुकका सम्पूर्ण धरोहर तथा निजी सम्पत्तिमाथि भएको आगजनी र लुटपाटको घटनाको जिम्मेवारी कसले लिने भन्ने प्रश्न गरिन्। उनले २४ भदौको विध्वंस सत्तारोहणको भर्याङ मात्र थियो कि अन्य कुनै उद्देश्यले भएको थियो भन्ने स्पष्ट हुनुपर्ने बताइन्।
उनले भनिन्, ‘सामाजिक सञ्जाल प्रतिबन्ध, सुशासन र तत्कालीन सत्ताका बेथितिविरुद्ध जेन–जीहरूले गरेको आन्दोलन पवित्र थियो। तर शान्तिपूर्ण भन्दै २४ गते देशका धरोहरसँगै निजी सम्पत्तिमाथि भएको आगजनी, लुटपाटको घटना के थियो ? यसको जिम्मा कसले लिने ? के यो सत्तारोहणको भर्याङ मात्र थियो कि अरू कुनै ? मानव अधिकार आयोग र कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्छ कि पर्दैन ? म सरकारलाई सोध्न चाहन्छु।’
सांसद शर्माले जेन–जी शहीदका परिवार र घाइतेका माग पूरा गर्नसमेत सरकारको ध्यानाकर्षण गराइन्।
–न्युज एजेन्सी नेपाल
