दुई वर्षदेखिको युद्धविराम तोडिएपछि यमन पुनः क्षेत्रीय द्वन्द्वको भुमरीमा फसेको छ। यमनका हुथी विद्रोही र साउदी गठबन्धनबीच सीमापार आक्रमणको नयाँ शृंखला सुरु भएसँगै विश्व व्यापारको संवेदनशील जलमार्ग ‘बाब अल-मन्दाब’ क्षेत्रमै भीषण लडाइँ चर्किएको छ।
हुथी सैन्य प्रवक्ता याह्या सारियाले पछिल्लो १२ घण्टाभित्र यमनका विभिन्न ६ वटा प्रान्तमा साउदी लडाकु विमानहरूले ५५ पटक भीषण बमबारी गरेको आरोप लगाएका छन्। उत्तरी प्रान्त अल-जौफ र सादादेखि रणनीतिक महत्त्वका ताइज र होदैदासम्मका क्षेत्रमा यी हवाई हमला भएको उनले बताएका छन्।
सारियाले ‘यसको हिसाबकिताब बराबर गरिने’ भन्दै चेतावनी दिएका छन्। साउदी अरबले यसबारे आधिकारिक प्रतिक्रिया नदिए पनि उक्त बमबारी हुथीले अघिल्लो दिन साउदी भूमिमा गरेको आक्रमणको प्रतिक्रिया भएको बुझिएको छ।
मंगलबार हुथीहरूले दक्षिणी साउदीका ऊर्जा पूर्वाधार र एयरबेसलाई लक्षित गरी दर्जनौँ ड्रोन र क्षेप्यास्त्र प्रहार गर्दा ७३ जना घाइते भएका थिए भने तेल भण्डारण केन्द्रहरूमा भीषण आगलागी भएको थियो।
आकाशबाट भइरहेको यो हमलासँगै यमनको जमिन र समुद्र दुवै मोर्चामा लडाइँले उग्र रूप लिएको छ। विशेषगरी लाल सागर र अदनको खाडीलाई जोड्ने सामरिक जलमार्ग ‘बाब अल-मन्दाब’ वरपर सरकारी सेना र हुथी लडाकुहरू आमनेसामने भएका छन्।
विश्वभरका मालवाहक पानीजहाज गुड्ने यो साँघुरो जलक्षेत्र कब्जा गर्ने हुथीको प्रयासलाई रोक्न सरकारी सेनाले कडा प्रतिरोध गरिरहेको छ। सरकारी सेनाका अनुसार भिडन्तका क्रममा हुथीका केही कमान्डरहरू मारिनुका साथै केहीलाई नियन्त्रणमा लिइएको छ।
लाल सागरमा सरकारी नौसेनाले हुथीका लडाकु डुङ्गाहरूमाथि आक्रमण गरी उनीहरूलाई होदैदा बन्दरगाहतिर लखेटेको दाबी गरेको छ। उता, उत्तरी सीमावर्ती प्रान्त अल-जौफमा पनि सरकारी फौजले हुथीका मुख्य आपूर्ति मार्ग काटेर अघि बढेको बताएको छ।
लडाइँ अचानक फैलिएपछि युद्धग्रस्त क्षेत्रहरूबाट नागरिकहरूको भागाभाग सुरु भएको छ। विस्थापन शिविर व्यवस्थापन निकायका अनुसार पछिल्लो २४ घण्टाभित्रै ताइज, होदैदा र लाह्ज प्रान्तबाट १ हजार ३ सयभन्दा बढी परिवार आफ्नो थातथलो छाड्न बाध्य भएका छन्।
सेप्टेम्बर लागेयता मात्रै ती क्षेत्रबाट विस्थापित हुने परिवारको संख्या ६ हजार १ सय नाघिसकेको छ। यसले यमनको गहिरिँदो मानवीय संकटलाई झनै भयावह बनाएको छ।
पछिल्लो सैन्य तनावले सन् २०२२ को अप्रिलमा संयुक्त राष्ट्रसंघले गराएको युद्धविरामपछि कायम भएको तुलनात्मक शान्तिलाई पूर्ण रूपमा समाप्त पारिदिएको छ।
सन् २०१४ मा हुथीले राजधानी साना कब्जा गरेपछि र २०१५ मा साउदी नेतृत्वको गठबन्धनले हस्तक्षेप गरेपछि सुरु भएको यो दशक लामो युद्धले यमनलाई यसअघि नै गरिबी र भोकमरीको चरम सीमामा पुर्याइसकेको छ।
अहिले सुरु भएको यो नयाँ भिडन्तले क्षेत्रीय शक्तिहरूलाई मात्र होइन, अन्तर्राष्ट्रिय समुद्री व्यापारलाई समेत प्रत्यक्ष जोखिममा धकेलेको छ।
