पूर्वी चीनको तटीय सहर छिङताओस्थित एक पानीजहाज मर्मत केन्द्र (सिपयार्ड) मा रहेको विदेशी मालवाहक जहाजमा आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ । घटनामा अन्य पाँच जना घाइते भएका छन् ।
स्थानीय अधिकारीहरूका अनुसार बिहीबार बिहान करिब ११:१५ बजे ‘चाइना स्टेट सिपिङ कर्पोरेसन छिङताओ बेइहाइ सिपिङ’ मा मर्मतका लागि राखिएको जहाजमा अचानक आगो लागेको थियो । आगलागी भएको समयमा जहाजमा ४२ जना सवार थिए ।
घटनालगत्तै स्थानीय आपत्कालीन व्यवस्थापन, दमकल, प्रहरी तथा स्वास्थ्यकर्मीहरूको ठूलो टोली उद्धारमा खटिएको थियो । उद्धार टोलीले जहाजमा रहेका १२ जनालाई सकुशल बाहिर निकालेको थियो भने घाइते भएका पाँच जनालाई तत्काल स्थानीय अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचाररत घाइतेहरूको अवस्था हाल स्थिर र खतरामुक्त रहेको चिकित्सकहरूले जनाएका छन् ।
दमकलकर्मीहरूको निरन्तर प्रयासपछि दिउँसो करिब २:३० बजे आगो नियन्त्रणमा आएको थियो । आगलागीपछि सुरुमा २५ जना बेपत्ता भएको बताइएको थियो । तर, जहाजभित्र खोजी गर्ने क्रममा उद्धारकर्मीहरूले बेपत्ता सबै २५ जनालाई मृत अवस्थामा फेला पारेको स्थानीय प्रशासनले बिहीबार साँझ पुष्टि गरेको छ ।
जहाजमा आगो लाग्नुको यकिन कारण खुल्न सकेको छैन । घटनाबारे प्राविधिक टोलीले विस्तृत अनुसन्धान सुरु गरेको जनाइएको छ ।
