काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस वर्षको हरितालिका तिज संयम, संवेदना र सामाजिक जिम्मेवारीलाई प्राथमिकता दिँदै मनाउन आग्रह गरेका छन्।
तिजको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै प्रचण्डले भोटेकोशीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको परिस्थितिलाई ध्यानमा राख्न आग्रह गरेका हुन्।
उनले विपद्का कारण पीडामा रहेका परिवारप्रति ऐक्यबद्धता व्यक्त गर्दै तिज मनाउँदा प्रभावित नागरिकको अवस्थालाई समेत सम्झनुपर्ने बताएका छन्। साथै, बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न उनले सबैलाई आह्वान गरेका छन्।
प्रचण्डका अनुसार विपत्तिको यस्तो समयमा विगतका वर्षमा जस्तो उत्सव र उल्लासका साथ पर्व मनाउने अवस्था छैन। त्यसैले तिजलाई सामाजिक संवेदना र जिम्मेवारीसँग जोडेर मनाउनुपर्ने उनको धारणा छ।
उनले विपद्बाट प्रभावित नागरिकको दुःखमा साथ दिनुका साथै आपसी सहयोग र सहकार्यलाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन्।
प्रचण्डले विपद्को समयमा देखिने संवेदना, संयम र एकताले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सक्ने बताएका छन्। प्रभावित परिवारको पीडामा साथ दिँदै राहत तथा पुनर्स्थापनाका प्रयासमा सहभागी हुन उनले आग्रह गरेका छन्।
