सडक डिभिजन काठमाडौंले सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी तत्काल उपलब्ध गराउन सकिने गरी ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा ल्याएको छ ।
एक कार्यक्रमका बीच डिभिजनले काठमाडौं जिल्लाका १० वटै निर्वाचन क्षेत्रबाट निर्वाचित सांसदहरूलाई एपबारे ब्रिफिङ गराएको हो । एपमार्फत सडकमा भएका खाल्डाखुल्डी, सडक क्षति, पानी जम्ने समस्या, ट्राफिक सुरक्षा तथा सडक निर्माणसँग सम्बन्धित समस्या फोटोसहित रिपोर्ट गर्न सकिने व्यवस्था रहेको डिभिजन प्रमुख सुवोधकुमार देवकोटाले जानकारी दिए ।
उनले उक्त एप बिहीवार औपचारिक रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको पनि बताए । उहाँकाअनुसार समस्या रिपोर्ट गरिसकेपछि समस्या देखिएको स्थान एपले जीआईएस म्यापिङमार्फत पहिचान गर्नेछ । प्रयोगकर्ताले आवश्यक परे ठेगाना खोजेर स्थानसमेत निर्धारण गर्न सक्ने उनले बताए ।
देवकोटाले समस्या दर्ता गर्दा फोटो, समस्याको प्रकार, गम्भीरताको स्तर र नजिकको चिनारी स्थान राख्नुपर्ने बताए । उनले काठमाडौं उपत्यकाका सडकमा देखिएका खाल्डाखुल्डी तत्काल पुर्न सडक डिभिजन कार्यालयले यसअघि नै ‘सडक पोटहोल मर्मत एम्बुलेन्स’ परिचालन गरिसकेको जानकारी दिए ।
उनले सडकलाई सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले कार्यालयले मर्मत अभियानलाई तीव्रता दिएको बताए ।
उनले भने, ‘हामीले नयाँ एप ‘सडक सुझाव’ भनेर लन्च गरेका छौं । यसमा ड्यामेज रोड, वाटर लगिङको एरिया भए पनि रिपोर्ट गर्न सकिन्छ । ट्राफिक सेफ्टी र अरू कुराहरू पनि यसमा रिपोर्ट गर्न सकिन्छ । यो एप प्ले स्टोरमा उपलब्ध छ । यसमा सडकमा खाल्डाखुल्डी, सडक क्षति, पानी जम्ने वा सडक निर्माणसम्बन्धी कुनै समस्या देख्नुभएको छ भने गुनासो मात्र होइन, अब समाधान पनि त्यहीँ एपमार्फत जुटाउन सकिन्छ । सबैभन्दा पहिले प्ले स्टोर वा एप स्टोरमा गई सडक सुझाव एप डाउनलोड गर्ने, एप खोल्ने र होम स्क्रिनमा रहेको ‘रिपोर्ट अ प्रब्लम’मा क्लिक गरी समस्याको फोटो अपलोड गर्न सकिन्छ । फोटो खिचेको स्थान एपले स्वतः पहिचान गर्दछ । आवश्यक परे ठेगाना खोजी गरी स्थानसमेत निर्धारण गर्न सकिन्छ । त्यसपछि समस्याको प्रकार छनोट गरी समस्याको गम्भीरताको स्तर छनोट गर्नुपर्छ । सबै विवरण जाँच गरी समिट गर्न सकिन्छ । यति गरेपछि तपाईंको रिपोर्ट सफलतापूर्वक दर्ता हुन्छ र एउटा रिफरेन्स नम्बर प्राप्त हुन्छ । दर्ता गरिएको रिपोर्टको अवस्था पनि एपमार्फत हेर्न सकिन्छ । प्राप्त रिपोर्टहरूलाई समस्याको आवश्यकता, गम्भीरता र प्राथमिकताका आधारमा मूल्याङ्कन गरी आवश्यकताअनुसार समाधान तथा व्यवस्थापनको प्रक्रिया अघि बढाइनेछ । सडक डिभिजन काठमाडौं जनताको सेवा र कल्याणका लागि २४ सै घण्टा प्रतिबद्ध छ ।’
उनले विस्तारै यो प्रणालीसँग भक्तपुर र ललितपुरलाई समेत जोडिने बताए ।
