पृथ्वीराजमार्गअन्तर्गत कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालनमा आए पनि सडक विभागले यसलाई दीर्घकालीन रूपमा सुरक्षित र सञ्चालनयोग्य बनाउने काम अघि बढाउने भएको छ।
सडक विभागका सिडिइ सुरेश पौडेलका अनुसार अहिले सडक सञ्चालनमा ल्याउनु तत्कालीन समाधान मात्रै हो। कृष्णभीरको जोखिम स्थायी रूपमा न्यूनीकरण गर्न सडकको माथिल्लो भागमा पानी व्यवस्थापनदेखि तल्लो भागमा नदी कटान नियन्त्रणसम्मका काम गर्नुपर्ने अवस्था छ।
पौडेलले कृष्णभीरको दीर्घकालीन व्यवस्थापनका लागि माथिल्लो स्लोपबाट पानीको व्यवस्थापन गर्ने, सम्भावित पहिरो नियन्त्रणका संरचना निर्माण गर्ने तथा नदी कटानबाट सडकलाई जोगाउने उपायबारे अध्ययन सुरु भइसकेको बताए।
उनका अनुसार आवश्यक परीक्षण, डिजाइन र अन्तिम योजना तयार गर्न केही समय लाग्नेछ। कृष्णभीरको दीर्घकालीन विकल्पका रूपमा सुरुङ निर्माण गर्ने वा त्रिशूली नदीपारि वैकल्पिक सडक बनाउने विषयमा समेत छलफल भइरहेको छ।
वैकल्पिक संरचना निर्माण हुन समय लाग्ने भएकाले हाल सञ्चालनमा ल्याइएको सडकलाई कम्तीमा तीन वर्ष सुरक्षित रूपमा सञ्चालनयोग्य बनाउने गरी काम गर्नुपर्ने पौडेलले बताए।
उनले भने, ‘माथिबाट वाटर म्यानेजमेन्ट कसरी गर्ने भन्ने एउटा चुनौती छ। भोलि जतिखेर पनि माथिको स्लोप फेलियर भएर पहिरो जान सक्ने सम्भावना छ। साना–साना पहिरो गएर एक–दुई घण्टासम्म सडक अवरुद्ध हुने सम्भावनालाई कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा छलफल सुरु भइसकेको छ।’
विभागले अहिले ग्राभेल गरिएको सडकलाई बर्खा सकिएलगत्तै कालोपत्रे गर्ने तयारीसमेत गरेको छ। कालोपत्रेका लागि अस्फाल्ट वा अन्य उपयुक्त प्रविधि प्रयोग गर्ने विषयमा छलफल भइरहेको पौडेलले बताए।
सडक सञ्चालनसँगै ट्राफिक सुरक्षाका थप मापदण्डसमेत लागू गरिने उनले बताए। कृष्णभीरको तत्कालीन समस्या समाधान भए पनि माथिल्लो भिर र तल्लो नदी कटानको जोखिम कायमै रहेकाले सडक विभाग ‘अब ट्र्याक खनेर आराम गर्ने’ अवस्थामा नरहेको पौडेलले स्पष्ट पारे।
आगामी दिनमा सडकलाई सुरक्षित र दीर्घकालीन रूपमा सञ्चालन गर्न आवश्यक प्राविधिक अध्ययन तथा संरचना निर्माणलाई अघि बढाइने विभागको योजना छ।
पृथ्वीराजमार्गअन्तर्गत कृष्णभीर सडकखण्ड दुईतर्फी सञ्चालनमा आए पनि माथिबाट पहिरो वा माटोका अवशेष खस्ने जोखिम कायमै रहेको नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष शहदेव खड्काले बताए।
खड्काका अनुसार वर्षा हुँदा माथिल्लो भागबाट डेब्रिज खस्न सक्ने सम्भावना रहे पनि त्यसलाई व्यवस्थापन गरेर यसअघिजस्तो लामो समयसम्म सडक अवरुद्ध हुने अवस्था आउन नदिने सकिनेछ।
उनका अनुसार कृष्णभीरमा तत्कालका लागि सडक सञ्चालन गर्न आवश्यक काम सम्पन्न भइसकेको छ। करिब ११ दिनको प्रयासपछि सडकलाई दुईतर्फी रूपमा सञ्चालनमा ल्याइएको उनले बताए।
सडक निर्माणका क्रममा सोल ड्रेन, ग्रेड कटिङ, सबग्रेड तथा सडक सुरक्षाका मापदण्ड अपनाउनुपर्ने भएकाले काम सम्पन्न गर्न केही समय लागेको खड्काको भनाइ छ।
उनले अहिले मालवाहक, सार्वजनिक तथा निजी सवारीसाधनसँगै ग्यास बुलेटसमेत सहज रूपमा आवतजावत गरिरहेको बताए।
खड्काले भने, ‘डेब्रिजहरू जुन माथिबाट आउन सक्छ, पानी पर्यो भने नआउला भन्न सकिन्न। तर त्यो आयो भने काटेर, फ्याँकेर केही समय होल्ड गरेर फेरि सञ्चालन गर्न सकिन्छ।’
बाढीबाट पृथ्वीराजमार्गका विभिन्न खण्डमा भएको क्षतिको मूल्यांकन गर्न विश्व बैंकको प्राविधिक टोलीले स्थलगत निरीक्षण गर्ने भएको छ।
खड्काका अनुसार कृष्णभीरसहित शीतलबजार, पोखरेभीर, पाङ्ग्रे, गलौँदीलगायत क्षेत्रमा बाढीले सडकमा क्षति पुर्याएको छ। विश्व बैंकको टोलीले क्षतिको अवस्था अध्ययन गरी सडकलाई थप व्यवस्थित र सुरक्षित बनाउने उपायबारे मूल्यांकन गर्नेछ।
निरीक्षणमा सडक विभाग, परामर्शदाता तथा निर्माण व्यवसायीको टोलीसमेत सहभागी हुने खड्काले बताए।
