चीनको गुआङ्सी प्रान्तमा निर्माण गरिएको पिङ्लु नहर सञ्चालनमा आएसँगै चीन र दक्षिण–पूर्वी एसियाली राष्ट्रहरूबीचको व्यापारिक सम्बन्धमा नयाँ अध्याय सुरु भएको छ। यो नहरले चीनको भित्री भू–भागलाई बेइबु गल्फ हुँदै अन्तर्राष्ट्रिय जलमार्गसँग जोडेको छ, जसलाई क्षेत्रीय आर्थिक एकीकरणका लागि कोशेढुंगा मानिएको छ।
नाननिङमा आयोजित ‘चीन–आसियान एक्सपो’का क्रममा विभिन्न देशका उच्च अधिकारी र व्यावसायिक प्रतिनिधिहरूले यस जलमार्गको रणनीतिक महत्वबारे चर्चा गरेका छन्। उनीहरूका अनुसार यो परियोजनाले चीनको मात्र नभएर सिङ्गो आसियान क्षेत्रको रसद प्रणालीलाई थप प्रभावकारी बनाउनेछ।
आसियानका महासचिव काओ किम होर्नले यस परियोजनालाई ऐतिहासिक महत्वको भन्दै यसले समग्र क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।
उनले भने, ‘यो नहरले चीनलाई मात्र फाइदा पुग्ने होइन, यसले क्षेत्रीय व्यापारिक वातावरणमा व्यापक सकारात्मक परिवर्तन ल्याउनेछ।’
त्यसैगरी, सिङ्गापुरका वरिष्ठ राज्यमन्त्री लो येन लिङले पिङ्लु नहरले बेइबु गल्फको ढुवानी क्षमतालाई अनुकूलित गरेको उल्लेख गरेकी छन्। उनले यस जलमार्गले गुआङ्सीलाई सिङ्गो दक्षिण–पूर्वी एसियासँग कुशलतापूर्वक जोड्न मद्दत गर्ने धारणा राखेकी छन्।
टिमोर–लेस्टेको उद्योग तथा वाणिज्य कक्षका उपाध्यक्ष सिडोनियो ट्रिन्डाडे डा कोस्टा फ्रीटासका अनुसार यो मार्गले व्यापारिक लागत र समय दुवैमा उल्लेखनीय कटौती गर्नेछ।
उनले भने, ‘गुआङ्सी एसियाली बजारको प्रवेशद्वार हो। पिङ्लु नहरले आसियान र चीनबीचको कनेक्टिभिटीलाई छिटो, छरितो र सस्तो बनाउनेछ, जसले अन्ततः क्षेत्रीय अर्थतन्त्रलाई गति दिनेछ।’
