काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको इन्द्रजात्रा पर्व हनुमानढोका दरबार परिसरमा विधिवत् रूपमा इन्द्रध्वजा (लिङ्गो) ठड्याएसँगै औपचारिक रूपमा सुरु भएको छ।
पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको शुभसाइतअनुसार बुधवार लिङ्गो ठड्याइएको हो। इन्द्रध्वजोत्थानको विशेष समारोहमा नेपाली सेनाको श्री शार्दूल जङ्ग गुल्मले तोप पड्काएर र बन्दुकको सलामी अर्पण गर्दै राजकीय सम्मान प्रदान गरेको थियो।
लिङ्गोको टुप्पोमा नागदेवताको प्रतीकस्वरूप ध्वजा फहराइएको छ भने फेदमा अष्टमातृका र इन्द्र भगवानको सुनौलो प्रतिमा राखी विशेष पूजा गरिएको छ। भक्तपुर र काभ्रेको सिमानास्थित चित्तपोलको जङ्गलबाट धार्मिक विधिपूर्वक काटिएको रानी सल्लाको काठलाई विशेष पूजापाठ गरी नगर प्रवेश गराएपछि हनुमानढोका पुर्याइएको थियो।
वर्षा र उर्वरताका देवता इन्द्रको सम्मान र विजयको प्रतीकका रूपमा मनाइने यो जात्राले काठमाडौंको जनजीवनलाई केही दिनका लागि उत्सवमय बनाउनेछ। जात्रा अवधिभर पुलुकिसी नाच, मजिपाः लाखे, महाकाली नाच, भक्कुनाच र दशअवतार नाटकजस्ता परम्परागत कला प्रदर्शन गरिनेछन्।
साथै, आकाश भैरव, श्वेत भैरव र बाकादेय् भैरवका मूर्तिहरू सार्वजनिक दर्शनका लागि राखिनेछन्। जात्राको मुख्य आकर्षण मानिने जीवित देवी श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा असोज ९ गते शुक्रबार ‘क्वनेया’ (तल्लो टोल यात्रा) बाट सुरु हुनेछ।
राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपतिले गद्दी बैठकबाट रथयात्रा अवलोकन गर्ने परम्परा छ। त्यसैगरी, असोज १० गते ‘थनेया’ (माथिल्लो टोल यात्रा) र असोज १३ गते महिलाहरूद्वारा रथ तानिने ‘नानीचा यात्रा’ पछि इन्द्रध्वजा ढालेर जात्रा समापन हुनेछ।
विश्व सम्पदा सूचीमा रहेको वसन्तपुर दरबार क्षेत्रलाई झकिझकाउ पारिएको छ। ३१ वटा गुठी खलःको सहभागितामा भइरहेको यस पर्वले आन्तरिक तथा बाह्य पर्यटकलाई समेत लोभ्याउने गरेको छ।



























