क्रोएसियाको राजधानी जाग्रेबले मंगलबार ‘कार–फ्री डे’ (कारमुक्त दिवस) मनाएको छ। युरोपेली गतिशीलता सप्ताहको एक हिस्साका रूपमा आयोजित यो कार्यक्रमअन्तर्गत सहरको व्यस्त केन्द्रमा निजी सवारी साधनलाई निषेध गर्दै सार्वजनिक यातायात निःशुल्क बनाइएको छ।
सहरका अधिकारीहरूका अनुसार मंगलबार बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सहरको मुख्य केन्द्रमा निजी सवारी साधनको आवागमनमा पूर्ण रोक लगाइएको छ। यो अवधिमा अत्यावश्यक सेवाका सवारी, सार्वजनिक यातायात, ट्याक्सी र स्थानीय बासिन्दाका साधनलाई मात्र प्रवेशको अनुमति दिइएको छ।
सहरलाई प्रदूषणमुक्त बनाउने उद्देश्यले अपनाइएको यस नीतिलाई स्थानीय नागरिकले उत्साहजनक रूपमा लिएका छन्। यस विशेष दिवसका अवसरमा नगरपालिकाले सार्वजनिक यातायातलाई पूर्ण रूपमा निःशुल्क बनाएको छ। साथै, सहरको लोकप्रिय सार्वजनिक साइकल साझेदारी योजना ‘बाज’ अन्तर्गतका साइकलहरू पनि प्रयोगकर्ताका लागि निःशुल्क उपलब्ध गराइएको छ। यसले सर्वसाधारणलाई निजी कार छोडेर वातावरणमैत्री यातायातका माध्यम रोज्न प्रोत्साहन गर्ने लक्ष्य राखेको छ।
स्थानीय बासिन्दाहरूले यो अभियानको प्रशंसा गरेका छन्। जाग्रेबकी निवासी क्सेनिया प्रोहास्काले भनिन्, ‘यो अत्यन्तै सुन्दर छ। म चाहन्छु कि सहरको मुख्य केन्द्रमा यस्तो व्यवस्था दैनिक रूपमा होस्। डुब्रोभ्निक र स्प्लिटजस्ता सहरका केही स्थानमा झैँ यहाँ पनि सवारी निषेधित हुनुपर्छ।’
अर्का स्थानीय इगोर होर्भाटले पनि यस्तो प्रयास बारम्बार हुनुपर्ने र नागरिकले निजी सवारी कम प्रयोग गरी सार्वजनिक यातायाततर्फ आकर्षित हुनुपर्ने धारणा राखे।
उल्लेखनीय छ कि युरोपभर हरेक वर्ष सेप्टेम्बर १६ देखि २२ सम्म ‘युरोपेली गतिशीलता सप्ताह’ मनाइन्छ। यसको मुख्य उद्देश्य पैदल यात्रा, साइकल चलाउने बानी र सार्वजनिक यातायातको प्रयोगलाई बढावा दिनु हो। जाग्रेब सहरले सहरी ट्राफिक जाम कम गर्ने र वायुको गुणस्तरमा सुधार गर्ने दीर्घकालीन रणनीतिका रूपमा विगत केही वर्षदेखि निरन्तर यस अभियानमा सहभागिता जनाउँदै आएको छ।
