युवा, श्रम तथा रोजगार मन्त्रालयले कोशी प्रदेशमा सीप तथा रोजगार मेला आयोजना गर्ने भएको छ ।
मन्त्रालयमा बुधवार पत्रकार सम्मेलन गरी असोज १४ देखि २० गतेसम्म कोशी प्रदेशको इटहरीमा मेला आयोजना गर्न लागेको जानकारी दिइएको हो । सीप विकास तथा रोजगारी प्रवद्र्धनका लागि सीप तथा रोजगार मेला राष्ट्रिय अभियानका रूपमा सञ्चालन गर्न लागिएको मन्त्रालयका सहसचिव एवं सीप तथा रोजगार मेलाका संयोजक हेमराज तामाङले बताए ।
मन्त्रालयले सातै प्रदेशलाई समेट्ने गरी सात चरणमा मेला आयोजना गर्ने तयारी गरेको उनले जानकारी दिए । सोहीअनुसार पहिलो चरणमा कोशी प्रदेशको इटहरीमा मेला आयोजना गर्न लागिएको हो ।
उनका अनुसार सरकारले वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रूपान्तरण गर्ने उद्देश्यले स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने नीति लिएको छ । सोही नीतिअनुसार मन्त्रालयले मेलामार्फत सीप सिक्न इच्छुक व्यक्तिलाई आवश्यक सीप विकासको अवसर उपलब्ध गराउने तथा सीप हासिल गरिसकेका जनशक्तिलाई रोजगारदाताको मागअनुसार रोजगारीसँग जोड्ने गरी मेला आयोजना गरेको हो ।
मेलामा जब प्लेसमेन्ट तथा रोजगारदाता र श्रमिकबीच सीपअनुसारको मिलान गर्ने व्यवस्था गरिने उनले बताए ।
उनले भने, ‘यो सीप तथा रोजगार मेला नेपाल सरकारकै तर्फबाट आयोजना गर्न लागिएको हो । विदेशी रोजगारीलाई बाध्यताबाट विकल्पमा परिणत गर्दै नेपालमै रोजगारीका सुन्दर र स्वर्णिम अवसर सिर्जना गर्ने उद्देश्यका साथ सरकारले रोजगारी दशकको अवधारणा अघि सारेको छ । यही उद्देश्यलाई सहयोग पुग्ने गरी हामीले सीप तथा रोजगार मेला आयोजना गर्न लागेका हौँ । मन्त्रालयको बजेट तथा कार्यक्रममा यसलाई महत्वपूर्ण राष्ट्रिय ‘फ्ल्यागसिप’ कार्यक्रमका रूपमा अघि बढाउने व्यवस्था गरिएको छ ।
नेपालभरका सातवटै प्रदेशलाई समेट्ने गरी सात पटक सीप तथा रोजगार मेला आयोजना गर्ने हाम्रो लक्ष्य रहेको छ । नाम सुन्दा यो सामान्य मेला जस्तो लाग्न सक्छ । तर यो केवल मेला होइन, राष्ट्रिय अभियान हो । विशेषगरी सीप सिक्न चाहने इच्छुक व्यक्तिहरूलाई सीप विकासको अवसर प्रदान गर्ने तथा सीप सिकेर दक्ष भइसकेका व्यक्तिहरूलाई रोजगारदाताको मागअनुसार रोजगारीसँग जोड्ने उद्देश्य यस कार्यक्रमको हो ।
सीप सिक्न चाहने व्यक्तिहरूलाई आवश्यक सीप विकास गराउने र सीप विकास भइसकेका व्यक्तिहरूलाई रोजगारदाताको मागका आधारमा रोजगारीसँग मिलान अर्थात् ‘जब प्लेसमेन्ट’ गर्ने गरी यो कार्यक्रमलाई बृहत् र राष्ट्रव्यापी अभियानका रूपमा सञ्चालन गर्ने हाम्रो ध्येय हो । यसैक्रममा पहिलोपटक कोशी प्रदेशको इटहरीमा २०८१ साल असोज १४ गतेदेखि २० गतेसम्म सात दिन सीप तथा रोजगार मेला सञ्चालन गर्न लागेका छौँ ।’
मेलामा उद्योग, सेवा, कृषि, निर्माण लगायतका विभिन्न १० विधामा जम्मा ६५ वटा स्टल रहने छन् । मेलाले उद्योगको आवश्यकता, श्रम बजारको माग र सीपयुक्त जनशक्तिबीचको सम्बन्धलाई थप सुदृढ गर्ने विश्वास गरिएको छ ।
तीनै तहका सरकार, निजी क्षेत्र एवं विकास साझेदारको सहभागिता र सहकार्यमा कोशी प्रदेशमा सीप तथा रोजगार मेला सञ्चालन गर्न लागिएको हो ।
