नेकपा (एमाले) की सांसद गंगादेवी श्रेष्ठले वर्षेनी फैलिने बर्डफ्लुलगायतका सङ्क्रामक रोगबाट पीडित किसानलाई तत्काल राहत तथा क्षतिपूर्तिको प्रबन्ध गर्न सरकारसँग माग गरेकी छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्तो माग गरेकी हुन् । किसानलाई सुरक्षित राख्न बीमा प्रक्रिया सहज बनाउनुपर्ने र विधेयकको दायरा फराकिलो बनाएर पक्षीहरूलाई समेत समेट्नुपर्ने उनले बताइन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले प्रस्तुत गरेको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले किसानमैत्री कानुन निर्माणमा जोड दिइन् ।
सांसद श्रेष्ठले विधेयकको नाम नै अपूर्ण रहेको टिप्पणी गर्दै यसलाई ‘पशुपक्षी रोग नियन्त्रण विधेयक’ बनाइनुपर्ने संशोधन प्रस्ताव अघि सारिन् । पशु मात्र नभई पक्षीहरूमा पनि ठूलो मात्रामा सङ्क्रामक रोग फैलिने गरेको तथ्य औँल्याउँदै उनले वर्षेनी किसान बर्डफ्लुलगायतका अज्ञात रोगका कारण चरम मारमा पर्ने गरेको स्पष्ट पारिन् ।
सांसद श्रेष्ठले हालको पशु बीमा प्रणालीप्रति असन्तुष्टि व्यक्त गर्दै बीमा कम्पनीहरूले दाबी भुक्तानीमा आलटाल गर्ने गरेको गुनासो गरिन् ।
