कञ्चनपुर । मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुरका तीन नगरपालिका र डडेलधुराको एक नगरपालिकामा लगातार वर्षाको सम्भावना देखाउँदै सम्भावित असरबारे स्थानीयलाई सचेत गराएको छ।
महाशाखाले प्रभावमा आधारित मौसम पूर्वानुमान सार्वजनिक गर्दै कञ्चनपुरका दोधाराचाँदनी, वेदकोट र भीमदत्त नगरपालिका तथा डडेलधुराको परशुराम नगरपालिकाका विभिन्न क्षेत्रमा असोज ९ देखि ११ गतेसम्म मौसम प्रतिकूल हुन सक्ने जनाएको हो।
दोधाराचाँदनीमा डुबानको जोखिम
पूर्वानुमानअनुसार दोधाराचाँदनीमा लगातार वर्षा हुँदा कुतियाकवर बस्ती डुबानमा पर्न सक्ने सम्भावना छ।
महाकाली नदी तथा स्थानीय खोलानालामा पानीको बहाव बढ्न सक्ने भएकाले आसपासका बस्तीमा सतर्कता आवश्यक रहेको महाशाखाले जनाएको छ। वर्षाका कारण घर, गोठ, खेतबारी तथा धानबालीमा समेत क्षति पुग्न सक्ने सम्भावना औँल्याइएको छ।
दोधाराचाँदनी विगतमा पनि अत्यधिक वर्षाका कारण प्रभावित क्षेत्र हो। २०८१ साल असारमा यहाँको स्वचालित वर्षा मापन केन्द्रमा २४ घण्टामा ६२४ मिलिमिटर वर्षा रेकर्ड भएको थियो। उक्त मापन नेपालमा वर्षा रेकर्ड राख्न थालेयताकै उच्चमध्ये एक रहेको मौसम विज्ञान विभागले जनाएको थियो।
भीमदत्त र वेदकोटमा पनि सावधानी
भीमदत्त नगरपालिकाको वडा नम्बर १२ मा वर्षाका कारण पानी जम्ने सम्भावना रहेको पूर्वानुमान गरिएको छ।
वेदकोट नगरपालिका क्षेत्रमा पनि लगातार वर्षाका कारण स्थानीय जलाधार तथा सडक क्षेत्रमा असर पर्न सक्ने भएकाले मौसमको अवस्थाबारे नियमित जानकारी लिन आग्रह गरिएको छ।
स्थानीय प्रशासन तथा सम्बन्धित निकायले जारी गर्ने सूचनालाई ध्यान दिन र जोखिम देखिएमा सुरक्षित स्थानतर्फ जान महाशाखाले सुझाव दिएको छ।
परशुरामका सात वडामा बाढीपहिरोको जोखिम
डडेलधुराको परशुराम नगरपालिकाका वडा नम्बर १, २, ६, ७, ८, १० र ११ लाई सम्भावित जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको छ।
यी क्षेत्रमा वर्षाका कारण बाढी तथा पहिरो आउन सक्ने र सडक अवरुद्ध हुने सम्भावना रहेको प्रभावमा आधारित पूर्वानुमानमा उल्लेख छ।
सडक अवरुद्ध हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै यात्रा गर्नुअघि सडक तथा मौसमको पछिल्लो अवस्था बुझ्न आवश्यक रहेको छ।
जोखिमयुक्त क्षेत्रमा सतर्क रहन आग्रह
असोज ९ देखि ११ गतेसम्मको अवधिमा वर्षाको अवस्था परिवर्तन हुन सक्ने भएकाले स्थानीय बासिन्दालाई आधिकारिक मौसम सूचना नियमित रूपमा हेर्न आग्रह गरिएको छ।
विशेषगरी नदी तथा खोलाको किनार, डुबान सम्भावित बस्ती, पहिरोको जोखिम भएका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र मौसम प्रतिकूल भए सुरक्षित स्थानमा रहन सुझाव दिइएको छ।
